काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले गत बुुधबार आएको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, पुनस्र्थापना तथा सहज जीवनयापनका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
शुक्रबार नगरपालिकामा ९३ औें नगर कार्यपालिकाको आकस्मिक बैठकले विपद्को अवस्थामा मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वका रूपमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका अनुसार सहयोग रकम जनप्रतिनिधि, कर्मचारी र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट जुटाइने कार्यपालिकाले निर्णय गरेको छ । नगरपालिकाले बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
कार्यपालिका बैठकले विपद् प्रभावित नागरिकलाई प्रभावित स्थानबाट स्वास्थ्योपचारका लागि अस्पतालसम्म पु¥याउन स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स परिचालन गर्ने निर्णयसमेत गरेको छ।
यस्तै, जनप्रतिनिधिको नेतृत्वमा नगर प्रहरीसहितको टोली परिचालन गरी विपद् प्रभावित क्षेत्रबाट उद्धार गर्नुपर्ने नागरिकलाई काठमाडौँसम्म सुरक्षित ल्याउन एउटा सवारीसाधनको व्यवस्था गर्ने निर्णय गरिएको छ ।
नगरपालिकाले विपद्को घडीमा नागरिक समाज, निजी क्षेत्र, संघ–संस्था, शुभेच्छुक तथा आम नगरवासीलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आह्वान गरेको छ। उक्त राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको प्राङ्गणमा जिन्सीलगायत राहत सामग्री सङ्कलन गरी एकद्वार प्रणालीमार्फत वितरण गर्ने तथा सबै वडामा उपयुक्त स्थानमा घाइतेका लागि रक्तदान कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ ।