काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले तिब्बततर्फ जारी उद्धार तथा खोजी कार्य अस्थायी रूपमा रोकेको छ।चिनियाँ सञ्चारमाध्यमका अनुसार सीमा क्षेत्रमा बनेको अस्थायी ताल फुटेपछि तल्लो तटीय क्षेत्रमा थप बाढीको जोखिम बढेकाले उद्धार कार्य रोकिएको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चीनतर्फ पहिरोका कारण बनेको अस्थायी ताल फुटेको सूचना आएको भन्दै नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।
नेपाल प्रहरीले तिब्बततर्फ पानीको अस्थायी ताल फुटेकाले उद्धार तथा राहत कार्यमा जुटेका सुरक्षाकर्मी र सर्वसाधारणलाई सुरक्षित स्थानमा सर्न अपिल गरेको छ । ताल फुटेसँगै नदीको बहाव र आसपासको भूभागमा थप जोखिम उत्पन्न हुन सक्ने आकलनपछि उद्धार टोलीलाई तत्कालका लागि परिचालन नगर्ने निर्णय गरिएको बताइएको छ । चीनले तिब्बत–नेपाल सीमा क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीपछि लेभल–४ आपत्कालीन सतर्कता जारी गरेको छ ।