काठमाडौं । रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको मानवीय सहायता घोषणा गरेको छ । अष्ट्रेलियाली सरकारले तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम उपलब्ध गराउने जनाएको हो । बाढीमा कम्तीमा ३९ जना अष्ट्रेलियाली नागरिक बेपत्ता भएको रिपोर्ट प्राप्त भएको अष्ट्रेलियाले जनाएको छ ।
प्रभावित नागरिकको खोजी तथा सहयोगका लागि अष्ट्रेलियाली दूतावास र संकट प्रतिकार्य टोली परिचालन गरिएको छ । अष्ट्रेलियाले आगामी ४८ घण्टाभित्र तीन जना मानवीय सहायता विशेषज्ञको टोली नेपाल पठाउने जनाएको छ। घोषित सहायता खाद्यान्न, आपत्कालीन आश्रय, स्वच्छ खानेपानी, सरसफाइ तथा स्वास्थ्य सेवामा खर्च गरिनेछ ।
सहायतामध्ये २० लाख डलर विश्व खाद्य कार्यक्रम र २० लाख डलर अष्ट्रेलियन ह्युम्यानिटेरियन पार्टनरसिपमार्फत परिचालन गरिनेछ । बाँकी १० लाख डलर स्थानीय नेतृत्वमा हुने पुनःस्थापना तथा पुनर्निर्माणका काममा खर्च गरिने अष्ट्रेलियाले जनाएको छ।