काठमाडौं । नेपाली नारीहरूको महान् पर्व हरितालिका तिज नजिकिँदै जाँदा नेपाली सांगीतिक बजारमा तिज गीतहरूको रौनक बढ्न थालेको छ । यही अवसरलाई लक्षित गर्दै प्रेम, आकर्षण, मौलिकता र नेपाली तिजको सांस्कृतिक सुगन्धलाई समेटिएको नयाँ गीत ‘मेरो माया जुनीभरीलाई’ सार्वजनिक भएको छ । ‘मेरो माया जुनीभरीलाई’ शीर्षकले नै प्रेमको गहिराइ र जीवनभरको साथको भावनालाई संकेत गर्छ ।
तिज केवल नाचगान र मनोरञ्जनको पर्व मात्र नभई नेपाली नारीहरूको भावना, संस्कृति, भेटघाट र खुसी साटासाट गर्ने विशेष अवसरका रूपमा पनि स्थापित छ । यही सांस्कृतिक परिवेशलाई प्रेमिल भावसँग जोड्दै गीतलाई तयार पारिएको छ ।
सुमन सागर जंग केसीले निर्देशन गरेको यो भिडियोमा लोकप्रिय संगीतकार मोहित मुनालको शब्द तथा संगीत रहेको छ, भने गायक निरज केसी र गायिका निरुता गैरेको सुमधुर स्वर सुन्न सकिनेछ । गीतमा प्रेमको मिठाससँगै तिजको उमंग, रमाइलोपन र नेपालीपनलाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
गीतको भिडियोमा कलाकार सुमन सागर जंग केसी, आशा कार्की, बास्मती केसी र अलिशा पाण्डेको अभिनय रहेको छ, भने कोरियोग्राफि किसन भुसालको गरेका छन । भिडियोको छायांकन रेशम दर्लामी मगरले गरेका छन् । टेकेन्द्र शाहले सम्पादन तथा कलरको जिम्मेवारी सम्हालेका छन भने निर्मला आचार्यको मेकअप रहेको छ ।
गीतको संगीत संयोजन यम थापा मगरले गरेका छन भने गीतको रेकर्डिङ ओजोन काठमाडौं तथा तामाङ रेकर्डिङ स्टुडियो, यूएईमा गरिएको हो । नेपाल र विदेशमा रहेका नेपाली स्रष्टाहरूको सहकार्यमा तयार भएको यस गीतले नेपाली संगीतको विस्तार हुँदै गएको दायरालाई समेत झल्काएको छ ।
नेपाली मौलिकता र आधुनिक प्रस्तुतीकरणको संयोजनमा तयार पारिएको ‘मेरो माया जुनीभरीलाई’ यस वर्षको तिजमा दर्शक तथा स्रोतामाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ । गीतले तिजको उल्लासमा प्रेमको मिठास थप्नुका साथै नेपाली कला, संस्कृति र संगीतप्रतिको आकर्षणलाई अझ सशक्त बनाउने विश्वास निर्माण पक्षले लिएको छ ।