करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सइ) तुल पुडासैनीले जितेका छन्। आन्तरिक राजस्व विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा साउन महिनाको दोस्रो १६ दिनको उपहार घोषणा गरेको हो। हरेक दिन एक–एक जना गरी छनोट भएका १६ जना र सबै सहभागीमध्येबाट छनोट गरिएको एक जना गरी १७ जना उपभोक्तामध्ये पुडासैनीले बम्पर उपहार हात पारेका हुन्।
पुडासैनी बागमती प्रदेश प्रहरी गण, हेटौँडामा कार्यरत छन् । उनको स्थायी घर बाराको सिमरा हो । अर्थ मन्त्रालयसँग कुरा गर्दै पुडासैनीले मोबाइलको कभर र सिसा मर्मत गर्दा गरेको कारोबारमा आफूलाई १० लाख रुपैयाँको बम्पर उपहार परेको बताए ।
उनका अनुसार मोबाइल मर्मतका लागि दुई–तीनवटा पसल चहारेपछि उनी गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सर्भिसमा पुगेका थिए। त्यहीँ गरेको कारोबारका आधारमा आफू बम्पर उपहारका लागि छनोट भएको उनले बताए।
‘त्यहीँ गरेको कारोबारमा १० लाखको उपहार परेको थाहा पाएँ। एकदमै खुसी लाग्यो। सबैतिरबाट बधाई आइरहेको छ,’ पुडासैनीले भने।
उनले सबैलाई कारोबार गर्दा अनिवार्य रूपमा बिल लिन र दिन आग्रह गरेका छन्। सकेसम्म अनलाइनमार्फत कारोबार गर्न पनि उनले उपभोक्तालाई अनुरोध गरेका छन्।