दाम्राभिट्टा । मोरङको रतुवामाई–८ दाम्राभिट्टास्थित ज्येष्ठ नागरिक एकता समाजको पाँचौँ साधारणसभा एवं छैटौँ स्थापना दिवस सोमबार दाम्राभिट्टास्थित त्रिपुरेश्वर शिवालय मन्दिरको सभाकक्षमा सम्पन्न भएको छ ।
रतुवामाई नगरपालिका, वडा नं. ८ का वडाध्यक्ष पुष्पबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी बलबहादुर बस्नेत, वरिष्ठ पत्रकार श्यामकृष्ण लम्साल, पूर्व वडाध्यक्ष गोपी चापागाईं, जयराम अधिकारी लगायतका वक्ताहरुले ज्येष्ठ नागरिकका अनुभव भावी पिढीलाई मार्गदर्शक बन्ने हुँदा ज्येष्ठ नागरिकको सम्मानमा जोड दिनुपर्ने बताए ।
साधारणसभाले ज्ञानप्रसाद अधिकारीको अध्यक्षतामा १० सदस्यीय कार्यसमितिको चयन गरेको छ । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः पार्वता अर्याल, तुलसीप्रसाद त्रिताल, प्रेमप्रसाद पौडेल र तेजनाथ दाहाल छानिएका छन् ।
सदस्यहरुमा अम्विका तिम्सिना, जानुका पौडेल, तुलसा गौतम, गोमा तिम्सिना, पर्शुराम घिमिरे र दीपक दुलाल चयन भएको निर्वाचन समिति सदस्य शान्तिराम अधिकारीले बताए ।