काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको खुद नाफा आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ८७ करोड रुपैयाँले घटेको छ । विदेशी विनिमय दरमा आएको परिवर्तनसँगै वित्तीय दायित्व, ब्याज तथा ह्रासकट्टी खर्च बढेपछि प्राधिकरणको खुद नाफा अघिल्लो वर्षको ८ अर्ब ९१ करोडबाट घटेर ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको हो ।
प्राधिकरणको खुद नाफा लगातार दोस्रो वर्ष घटेको हो। आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले १३ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेको थियो । त्यसपछि २०८१/८२ मा नाफा ८ अर्ब ९१ करोडमा झरेको थियो ।
प्राधिकरणका अनुसार विदेशी विनिमय दरमा भएको वृद्धिका कारण मात्रै दायित्व २७२.८६ प्रतिशतले बढेर ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । विदेशी मुद्रामा रहेको दायित्वको लागत बढ्दा ब्याज तथा ह्रासकट्टी खर्चसमेत बढेको र त्यसको प्रत्यक्ष असर खुद नाफामा परेको प्राधिकरणको वित्तीय विवरणले देखाएको छ ।
तर प्राधिकरणको सञ्चालनतर्फ भने सुधार देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा विद्युत् बिक्री तथा अन्य स्रोतबाट कुल १ खर्ब ६६ अर्ब रुपैयाँ आम्दानी भएको छ । विद्युत् बिक्रीबाट मात्रै १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ आम्दानी भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८.२० प्रतिशत बढी हो ।
विद्युत् चुहावट नियन्त्रण, सञ्चालन दक्षतामा सुधार र विद्युत् निर्यात बढेपछि प्राधिकरणको कुल मुनाफा १३.१७ प्रतिशतले बढेर ३१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा पनि ७.२८ प्रतिशतले बढेर २४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।
७ खर्ब ७९ अर्ब पुग्यो सम्पत्ति
प्राधिकरणको कुल सम्पत्ति ८.९ प्रतिशतले बढेर ७ खर्ब ७९ अर्ब १९ करोड २० लाख रुपैयाँ पुगेको छ । निर्माणाधीन पुँजीगत आयोजनामा २ खर्ब ६ अर्ब २६ करोड ७० लाख रुपैयाँ लगानी रहेको छ । समीक्षा अवधिमा ७४ अर्ब ६ करोड ६० लाख रुपैयाँ बराबरका आयोजना पुँजीकरण गरिएको प्राधिकरणले जनाएको छ ।
विद्युत् खपततर्फ पनि वृद्धि देखिएको छ । प्राधिकरणका अनुसार प्रतिग्राहक वार्षिक औसत विद्युत् खपत २ हजार ८८ युनिट पुगेको छ । औसत बिक्री दर प्रतियुनिट ९ रुपैयाँ ६८ पैसा रहेको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत ५ एम्पियर क्षमताका २५ लाख ८८ हजार ६२४ घरेलु ग्राहकलाई २१ करोड ७३ लाख ३२ हजार १६६ युनिट विद्युत् निःशुल्क उपलब्ध गराइएको छ।