काठमाडौँ । आजदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण डिलरबाटै नेपाल आयल निगमले जनाएको छ। नेपाल आयल निगमले आइतबार सूचना प्रकाशित गर्दै आज (भदौ १ गते)देखि सम्बन्धित उद्योगहरूले नियुक्त गरेका बिक्रेताहरूबाट नियमित प्रक्रिया अनुसार नै ग्यासको बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको हो ।
ग्यास सिलिण्डर आवश्यक भएका उपभोक्ताहरूले आफूलाई पायक पर्ने ग्यास बिक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न पनि निगमले आग्रह गरेको छ।
ग्यास वितरण कार्यलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन निगमले पाँच बुँदे सूचना पनि जारी गरेको छ।
आयल निगमद्वारा काठमाडौँमा शनिबार र आइतबार १६ हजार ३ सय सिलिन्डर ग्यास बिक्री
ग्यास उद्योगहरुले दैनिक विक्री गर्ने विक्रेता वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिण्डर संख्या सहितको विवरण निगममा प्रत्येक दिन बिहान ९ बजे भित्र उपलब्ध गराउने निगमले भनेको छ।
त्यसैगरी ग्यास बिक्रेतारवितरकले विक्री गरेको ग्याँसको परिमाण, उपभोक्ताको नाम, सम्पर्क नम्वर सहितको विवरण दैनिकरुपमा तयार पारी अनिवार्य रुपमा सम्बन्धित उद्योगहरुलाई उपलब्ध गराउनुपर्ने र सम्बन्धित उद्योगले नेपाल आयल निगमलाई सो विवरण सोही दिन उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ।
यस्तै, ग्यासको बिक्री वितरण गर्दा अत्यावश्यक भएका घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्ताहरुलाई उच्च प्राथमिकतामा राखी बिक्री वितरण गर्नुपर्ने, ग्यास ढुवानी र वितरण कार्यमा सुरक्षाको दृष्टिबाट सहजीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयमार्फत अनुरोध गरिएको छ।
त्यस्तै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग अनुरोध गरी निगमबाट खटिएका जनशक्तिसमेतको संयुक्त टोलीबाट समेत ग्याँसको वितरण कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको जनाइएको छ।
नजिकका बिक्रेतावाट कुनै कारणवस ग्यास प्राप्त गर्न नसकेमा र तत्काल अति आवश्यक परेका उपभोक्ताले निगममा संचालनमा रहेको क्विक रेस्पोन्स टिम (क्यूआरटी) को मोबाइल नम्बर ९८५१४५५१२४ र ९८५१४५५१२८ मा सम्पर्क गर्नसमेत निगमले आग्रह गरेको छ।