शनिबार तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड-२०२६ (इन्फा अवार्ड) भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा निर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता बन्दा मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भइन्।
त्यस्तै, नविन चौहान उत्कृष्ट निर्देशक तथा ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र बन्न सफल भएको छ । पल शाह लोकप्रिय अभिनेता र जसिता गुरुङ लोकप्रिय अभिनेत्री घोषित भए।
इन्फा इभेन्ट्स नेपाल र इन्फा इभेन्ट्स यूकेको संयुक्त आयोजनामा भएको यस वर्षको अवार्डका लागि २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी चलचित्रमध्ये विभिन्न विधामा उत्कृष्ट पाँच मनोनयन छनोट गरिएको थियो। ती मनोनयनबाट निर्णायक मण्डलले उत्कृष्ट विजेता चयन गरेको आयोजकले जनाएको छ।
अवार्डको निर्णायक मण्डलमा हरिहर शर्मा जुरी संयोजक तथा गौरी मल्ल, रमेश बुढाथोकी र करुण थापा जुरी सदस्य रहेका थिए।
समारोहमा वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठलाई नेपाली कला तथा मनोरञ्जन क्षेत्रमा पुर्याएको दीर्घकालीन योगदानको सम्मानस्वरूप लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो।
अवार्ड समारोहमा पल शाह, उषा उप्रेती, कविता नेपाली, तेरिया मगर, एलिशा शर्मा, बाबुल गिरी, रिह्यान गिरी, समर्पण लामा तथा मिङ्मा डी. लेप्चालगायतका कलाकारले सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए। इन्फा अवार्डका बोर्ड अफ डाइरेक्टर तथा अवार्ड कोर्डिनेटर मनिष कार्कीले समारोहले अन्तर्राष्ट्रिय स्तरको अवार्ड समारोह आयोजना गर्न सफल भएको बताए।