काठमाडौँ । महिलाको शारीरिक, मानसिक तथा नेतृत्व क्षमता विकासलाई खेलकुदसँग जोड्दै अघि बढिरहेको क्याच एन्ड सर्भ बल नेपालको प्रथम राष्ट्रिय भेला तथा मनास्लु महिला क्षमता विकास केन्द्रको प्रथम वार्षिक साधारण सभा–२०८३ सम्पन्न भएको छ ।
संस्थाले स्थापना भएको एक वर्ष पूरा गरेको अवसरमा साउन ३० गते काठमाडौंमा राष्ट्रिय भेला, वार्षिकोत्सव तथा वार्षिक साधारण सभा आयोजना गरेको हो ।
‘खेलमा समानता र स्वस्थ जीवनका लागि खेलकुद’ भन्ने अवधारणासहित ‘चुलोचौकादेखि अन्तर्राष्ट्रिय खेल मैदानसम्म’ भन्ने नाराका साथ नेपाली महिलालाई खेलकुदमा जोड्ने अभियान सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्यले महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यसँगै आत्मविश्वास र नेतृत्व विकासका लागि खेलकुद महत्वपूर्ण माध्यम भएको बताइन् ।
महिलालाई घरायसी भूमिकामा मात्र सीमित नराखी उनीहरूभित्र रहेको क्षमता र प्रतिभालाई उजागर गर्न यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
डा. शाक्यले नेपालमा नयाँ खेलको रूपमा विस्तार हुँदै गएको क्याच एन्ड सर्भ बललाई देशका विभिन्न भूभाग र समुदायसम्म पुर्याउन आवश्यक रहेको बताउँदै संस्थाको अभियानलाई राज्यका सम्बन्धित निकाय तथा स्थानीय तहबाट समेत आवश्यक सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिइन् ।
विशिष्ट अतिथि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिलाको सशक्तीकरणलाई व्यवहारमै स्थापित गर्न खेलकुद प्रभावकारी माध्यम बन्न सक्ने बताइन् । महिलालाई अवसर र सहभागिता प्रदान गर्न सके उनीहरूले खेलकुदसँगै सामाजिक नेतृत्वमा समेत उल्लेखनीय योगदान दिन सक्ने उनको भनाइ थियो ।
त्यस्तै, जनजाति महासंघका अध्यक्ष तथा बागमती प्रदेशका पूर्वमन्त्री निमा लामाले खेलकुदलाई स्वास्थ्य र मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक रूपान्तरण र महिला नेतृत्व विकासको आधारका रूपमा अघि बढाउनुपर्ने बताइन । स्थानीय तहदेखि राष्ट्रियस्तरसम्म महिलाको खेल सहभागिता बढाउन यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी कार्यवाहक प्रमुख साननानी लामा, शंखरापुर नगरपालिकाकी उपप्रमुख समिता श्रेष्ठ, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका निवर्तमान प्रमुख कृष्णगोपाल तामाङ, राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव टंकलाल घिसिङ लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
इजरायल तथा युरोपका विभिन्न देशमा लोकप्रिय रहेको क्याच एन्ड सर्भ बल पछिल्लो समय नेपालमा पनि विस्तार हुँदै गएको छ । रोजगारीका क्रममा इजरायल पुगेका केही नेपाली महिलाले त्यहाँ सिकेको यो खेल करिब तीन–चार वर्षअघि नेपाल भित्र्याएपछि नेपालमा यसको अभ्यास तथा गतिविधि सुरु भएको बताइएको छ ।
मनास्लु महिला क्षमता विकास केन्द्रद्वारा सञ्चालित क्याच एन्ड सर्भ बल नेपालले खेलकुदमार्फत महिलाको स्वास्थ्य, आत्मविश्वास, सामाजिक सहभागिता तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण, खेलकुद गतिविधि र प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
वार्षिक साधारण सभामा संस्थाले एक वर्षको अवधिमा सञ्चालन गरेका गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे समीक्षा गरेको थियो । कार्यक्रममा हालसम्मको प्रगति तथा भावी चुनौतीका विषयमा कोच पेम्बा डोल्मा लामाले प्रस्तुति दिएकी थिइन् ।
संस्थाकी अध्यक्ष कादम्बरी दाना श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आगामी दिनमा क्याच एन्ड सर्भ बललाई नेपालका विभिन्न स्थानमा विस्तार गर्दै थप नेपाली महिलालाई खेलकुदमा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
कार्यक्रम सञ्चालन निरु गुरुङले गरेकी थिइन् ।
संस्थाले चुलोचौकादेखि अन्तर्राष्ट्रिय खेल मैदानसम्मको लक्ष्यलाई आत्मसात गर्दै खेलकुदमार्फत महिला सशक्तीकरणको अभियानलाई अझ व्यापक बनाउने जनाएको छ । घरायसी जिम्मेवारीमा मात्र सीमित महिलालाई खेलकुदको माध्यमबाट सार्वजनिक जीवनमा सक्रिय बनाउँदै उनीहरूको क्षमता, प्रतिभा र नेतृत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यसहित अभियानलाई निरन्तरता दिइने संस्थाले जनाएको छ ।