काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । स्मृति दिवसका अवसरमा आज नेकपा एमाले राजधानी प्रदेश कमिटीले एक कार्यक्रमको आयोजना गर्दैछ । यस्तै, नेपाली कम्युनिस्ट पार्टीलगायतले पनि स्मृति दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने जनाएका छन् ।
१९८१ साल असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाएका थिए । उनी शहीद गङ्गालालका भाइ हुन् ।
पुष्पलालले कार्लमाक्स र फेडरिक एङगेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेका थिए ।
२००६ साल वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उहाँले भारतको कोलकातामा नेकपा स्थापना गरेका थिए ।
नेकपा स्थापना गर्नुअघि १९९८ सालमा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेका थिए ।
नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने उनको मत थियो । पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।