काठमाडौँ । ‘पाँचौँ मिसेस नेपाल युनिभर्स २०२६’ मोडल तथा सामाजिक अभियन्ता डली गुरुङ याक्थुम्बा चयन भएकी छन् । तेस्रो चरणको कोलोन क्यान्सरलाई समेत जित्न सफल भएकी डली नेपालको पहिलो टेलिभिजन (भिजुएल) मोडल हुन् । उनले नेपालमा पहिलोपटक निर्माण भएको भिडियो विज्ञापनमा मोडलिङ गरेकी थिइन् । डली ४० र ५० को दशककी विज्ञापन तथा फेसन मोडल हुन् । लन्डन फेसन हाउसद्वारा हालै ललितपुरको झम्सीखेलमा आयोजित ‘क्राउन सेरोमनी’ समारोहमा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य र मिसेस नेपाल युनिभर्सकी निर्देशक एवं कार्यक्रम आयोजक मनिषा डंगोल श्रेष्ठले डलीलाई ‘पाँचौँ मिसेस नेपाल युनिभर्स–२०२६’ को क्राउन पहिराइदिएका हुन् ।
अब आगामी अक्टोबरमा हुने ‘मिसेस युनिभर्स २०२६’ मा नेपालको तर्फबाट डलीले प्रतिनिधित्व गर्नेछिन् । ३ सन्तानकी आमा डलीले आफूलाई यो उपाधिका लागि पति निराकर याक्थुम्बा (१९७४ एडी ब्यान्डका गिटारिस्ट), छोराछोरीहरू र सासू इन्दिरा याक्थुम्बाले प्रेरणा दिएको बताइन् । आफूले ‘मिसेस युनिभर्स २०२६’ मा सहभागी भएर यसपटक विश्वका महिलाहरू सामु नेपाललाई फरक रूपमा चिनाउने उनको भनाइ छ । ‘क्यान्सरलाई जितेर दोस्रो जीवन पाएकी म प्रकृतिसँग रमाइरहेको बेला पाँचौँ मिसेस नेपाल युनिभर्स २०२६ मा चयन हुन पाउँदा हर्षित भएको छु, नेपालका महिलालाई विश्वसामु चिनाउन यो महत्वपूर्ण प्लेटफर्म हो भनेर पतिसहित परिवारले भनेपछि मिसेस नेपाल युनिभर्स २०२६ लाई अझै उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दछु ।’
मिसेस नेपाल युनिभर्सकी निर्देशक एवम् लन्डन फेसन हाउसकी अध्यक्ष मनिषा डंगोल श्रेष्ठले धेरै संघर्षमा सफलता हासिल गरेकी ‘मिसेस नेपाल युनिभर्स २०२६’ डली गुरुङ यक्थुम्बाले मिसेस युनिभर्समा नेपालको लागि उपाधि ल्याउने विश्वास व्यक्त गर्दै उनलाई समारोहमा शुभकामना दिइन् । पूर्वमिसेस नेपाल युनिभर्ससमेत रहेकी मनिषाले सो समारोहलाई सफल तुल्याउन सघाउने सबैलाई धन्यवाद ज्ञापन गर्दै मिसेस नेपाल युनिभर्सको यात्राबारे पनि कार्यक्रममा प्रकाश पारेकी थिइन् ।