काठमाडौं । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गर्न न्यायिक समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।
समितिको सदस्यमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया रहेका छन्। सरकारले समितिलाई घटनाको वास्तविकता पत्ता लगाई सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिएको छ।
गणेश नेपालीको गत असार २६ गते काठमाडौंस्थित वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएको थियो। उनको मृत्यु भएपछि सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको थियो।
उक्त सहमतिको पहिलो बुँदामा घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने उल्लेख थियो। सोही सहमतिअनुसार सरकारले न्यायिक समिति गठन गरेको हो।
समितिले घटनाको पृष्ठभूमि, कारण, जिम्मेवार पक्ष र सहमतिमा उल्लेख विषयको कार्यान्वयन अवस्थालगायत विषयमा अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ।