काठमाडौँ । सरकारले साविकमा कायम रहेका सार्वजनिक बिदाहरूको पुनरवलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था लागू भएपश्चात् साविकका अन्य बिदाहरूको सङ्ख्या र औचित्यमाथि पुनरवलोकन गर्न आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरिएको हो ।
गोविन्दबहादुर कार्की मुख्यसचिव भएपछि बसेको सचिवहरूको सोमबारको बैठकले यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय सचिव बैठकले गरेको मुख्यसचिव कार्कीद्वारा बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहने निर्णय पनि गरेको छ । गठित कार्यदललाई साविकका सार्वजनिक बिदाहरूको अध्ययन तथा पुनरावलोकन गरी प्रतिवेदन तयार पार्न १५ दिनको समयसीमा तोकिएको छ। कार्यदलले आफ्नो अध्ययन प्रतिवेदन गृह मन्त्रालयमा पेस गर्नुपर्ने निर्णय पनि बैठकको छ ।