– श्याम लम्साल
हामीहरु सबैलाई कविता राम्रो हुनुपर्छ भन्ने लाग्छ । कविताका नाममा हामी विभिन्न प्रकारका रचनाहरु पढिरहेका हुन्छौँ । कत्ति रचनाहरु कविता भनेर प्रकाशित भएपनि ‘यो रचना कविता भएन’ भनेर परिभाषित पनि हुँदै आएका छन् ।
त्यसोभए कस्तो हुनुपर्छ त कविता ?
यस बारेमा वरिष्ठ कवि मेघराज मञ्जुलले यस्तो परिभाषा दिनुभएको छ– “कवितामा कलात्मक पक्ष सुन्दर हुनुपर्छ । वैचारिक पक्ष जनद्रोही हुनुहुँदैन । कलात्मक पक्ष सुन्दर तर वैचारिक पक्ष जनद्रोही भएका रचनाहरुलाई म कविता भन्दिनँ । कवितामा उपदेश हुन्छ, गाली हुन्छ, विरोध पनि हुन्छ, समयको माग अनुसारका कुराहरु हुनुपर्छ तर ती कुराहरु शिष्ट, सौम्य तरिकाले, विम्वात्मक ढङ्गले प्रतिकात्मकरुपमा प्रस्तुत हुनुपर्छ । निबन्धजस्तो रचना कविता भनेर प्रकाशित गर्दैमा त्यो कविता हुँदैन । कविता लेख्न कवि हुनैपर्छ । जो कवि नै होइन, त्यसले कविताका नाममा व्यक्त गरेका कुराहरु कसरी कविता हुनसक्छन् ?”
कविता लेख्न, बुझ्न अथवा कविता कस्तो हुन्छ वा हुनुपर्दोरहेछ भनेर जान्नका लागि हामी ‘मञ्जुलका नयाँ कविताहरु’, गोपालप्रसाद रिमालको ‘आमाको सपना’, मोहन कोइरालाको ‘सारङ्गी बोकेको समुद्र’, बैरागी काइँलाको ‘मातेको मान्छेको भाषण’, लगायत श्रवण मुकारुङ, भुपाल राई, भिष्म उप्रेती, उपेन्द्र सुब्बा आदिका कविताहरु पढेर पनि जान्न, बुझ्न पनि सक्छौँ ।
अन्त्यमा, कविताका केही अंशहरु पनि ः
शान्त नदीले,
विशाल समुद्रलाई सम्मान गरेजस्तो
मैले तिमीलाई आदर गर्न सकिनँ ।
– मञ्जुल
आमा ! त्यो आउँछ र ?
हो बा ! त्यो आउँछ ।
– गोपालप्रसाद रिमाल
चन्द्रमा हेर्छिन् चन्द्रमा,
झ्यालमा बसेर ।
–महाकवि लक्ष्मीप्रसाद देवकोटा
धरती र आकाशको बिचमा
सुन्दर संसार अढेको हुन्छ
धरती– सुन्दर संसार
आकाश– स्वर्गको एक टुक्रा
आकाश र धरतीको बिचमा
लुकेको छ पक्कै पनि सुन्दर संसार
– श्याम दिङ्लाली