काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विरोध गर्ने विपक्षी सांसदमाथि नै खनिएका छन् । प्रतिनिधिसभालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले विपक्षी सांसदहरूलाई सरकार कसरी सञ्चालन हुन्छ भनेर आफूले सिकाउने बताए ।
घोक्रो सुक्नेगरी भाषण गर्ने कति जना माननीयहरु हिजो अस्पताल जानुभयो ? भनेर प्रश्न गरेका उनले आत्मदाहको घटनामा नगर प्रहरीको संलग्नता रहेको बताए ।
‘सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु, हाम्रो तीन तहको सरकार हुन्छ, एउटा संघीय सरकार भयो, एउटा प्रदेश सरकार भयो, अनि एउटा स्थानीय सरकार भयो’, उनले भने, ‘जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले ह्वील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको त्यसमा ? ह्वील लक लगाएको छ ? नगर प्रहरीले लगाएको छ ।’
उनले विपक्षी राजनीतिक दललाई भने दुई तहको सरकार उनीहरूसँग नै भएको भन्दै अहिलेको नियम कानुन आफूहरूले बनाएको हो भनेर प्रश्न गरे । साथै, उनले विपक्षीहरूले बनाएको नियम कानुन नै आफूहरूले कार्यान्वयन गरेको पनि बताए ।