काठमाडौं । जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै वीर अस्पतालले जुनसुकै बेला स्वास्थ्य अवस्था थप बिग्रिन सक्ने जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका चिकित्सकहरूले गणेशको स्वास्थ्य अवस्था अझै अस्थिर रहेको र अनुहार तथा श्वासप्रश्वास प्रणालीमा गम्भीर असर परेकाले उपचार चुनौतीपूर्ण बनेको जानकारी दिए। उनीहरूको भनाइमा बिरामीलाई बचाउन सबै सम्भावित प्रयास जारी रहे पनि अवस्था संवेदनशील छ।
हाल नेपाली वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत छन्। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ।
उपचारमा वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष चिकित्सक टोली खटिएको छ।
नेपालीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको भए पनि स्वास्थ्य अवस्था स्थिर नभएकाले तत्काल स्थानान्तरण गर्न नसकिएको अस्पतालले जनाएको छ।
नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। त्यसपछि उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो।