पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो खेल जीवनकै अन्तिम विश्वकप हुने घोषणा गरेका छन् । सोमबार टेक्ससको आर्लिङटनमा स्पेनविरुद्ध हुने फिफा विश्वकप २०२६ को अन्तिम १६ को रोमाञ्चक भिडन्तअघि पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो पुष्टि गरेका हुन् । ४१ वर्षीय रोनाल्डोले सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र जारी २०२६ गरी लगातार ६ वटा विश्वकप खेल्ने कीर्तिमान बनाइसकेका छन् । यसै संस्करणको समूह चरणमा उज्वेकिस्तानविरुद्ध गोल गर्दै उनी ६ वटा फरक विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडी समेत बनेका थिए । पत्रकार सम्मेलनका क्रममा रोनाल्डोले स्पेनका १८ वर्षीय उदीयमान स्टार लामिन यामलको प्रशंसा गर्दै उनको भविष्य उज्ज्वल रहेको बताए ।