काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ । पौडेलकी श्रीमती दोमाया पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले आज बिहीबार खारेज गरेको हो ।
न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले सो रिट खारेज गरेको सर्वोच्चले जनाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेलको रिट बिहीबार सुनुवाइका लागि तोकिएको थियो । असार १० गते पौडेलकी पत्नी दोमाया पौडेलले आफ्ना श्रीमान्लाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
यसअघि मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासमा पौडेलको रिट सुनुवाइ भएको थियो ।उक्त इजलासले व्यापारी दिपक भट्ट र सुलभ अग्रवाललगायतविरुद्धको सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, धितोपत्रसम्बन्धी कसुर, बिमासम्बन्धी कसुरका मुद्दाका फाइल मगाएको थियो ।
असार ११ गते सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ । बिहीबार नै उनीविरुद्ध विशेष अदालतले ६ दिनको म्याद थपेको छ ।