काठमाडाैं । कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन जना दोषी ठहर भएका छन् । बिहीबार विदेश अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र यमुना भट्टराईको इजलासले कर फछ्र्यौंट आयोगका तत्कालीन सदस्य सचिव रहेका सहसचिव शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो ।
सजाय निर्धारण भने जेठ २५ हुने विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए । विशेष अदालतले सहसचिव शर्मालाई गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा भने सफाइ दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोगमार्फत् व्यापारीहरूलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा शर्मासहित तीन जनाविरुद्ध २०७८ असार ९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । शर्मासहित तीन जनाविरुद्ध १ अर्ब ३३ लाख ३० हजार ३८५ रुपैयाँ बिगो माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ बमोजिम सो बराबरको बिगो रकम र दफा ३ को उपदफा (१) बमोजिम कैदसहित जरिवानसमेतको सजाय माग गरेको थियो ।