काठमाडौँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि नयाँ र झन्झटमुक्त सुविधा ल्याएको छ । टेलिकमले मासिक रूपमा स्वतः नवीकरण (अटो-रिन्यु) हुने ‘सब्स्क्रिप्शन बेस्ड मोडेल’ अन्तर्गत विभिन्न प्रिपेड प्याकेजहरू सञ्चालनमा ल्याएको हो । यस नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले हरेक महिना प्याकेज नसकिँदै वा सकिएपछि पुनः सक्रिय (सब्स्क्राइब) गरिरहनुपर्ने बाध्यता हट्नेछ । ग्राहकले एकपटक यो सेवा सक्रिय गरेपछि, मोबाइलमा पर्याप्त ब्यालेन्स भएसम्म प्रत्येक महिना उक्त प्याकेज स्वतः नवीकरण हुने टेलिकमले जनाएको छ ।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार कम्पनीले ३० दिन समयावधि भएका तीन प्रकारका 'नमस्ते रिकरिङ' प्याकेजहरू बजारमा ल्याएको हो ।
नमस्ते रिकरिङ २९९: रु. २९९ मा ३०० मिनेट अल-नेट भ्वाइस कल, ४ जीबी अल-टाइम डाटा, राती ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने २ जीबी नाइट डाटा र २० वटा अन-नेट एसएमएस प्राप्त हुनेछ ।
नमस्ते रिकरिङ ४९९: रु. ४९९ मा ५०० मिनेट अल-नेट भ्वाइस, ८ जीबी अल-टाइम डाटा, ४ जीबी नाइट डाटा र १०० वटा अल-नेट एसएमएस पाइनेछ ।
नमस्ते रिकरिङ ७९९: रु. ७९९ मा सबै नेटवर्कमा असीमित (अनलिमिटेड) कल गर्न सकिने अल-नेट भ्वाइस, प्रतिदिन १० जीबीका दरले मासिक कुल ३०० जीबी डाटा र ३०० वटा अल-नेट एसएमएस उपलब्ध हुनेछ ।
थप डाटाका लागि एड-अन प्याकेज
यो सब्स्क्रिप्शन प्याकेज लिने ग्राहकहरूका लागि डेटा सकिएमा आवश्यकता अनुसार थप गर्न मिल्ने 'एड-अन' प्याकेजको समेत व्यवस्था गरिएको छ । जस अन्तर्गत रु. ३० मा १ दिनका लागि १ जीबी, रु. ५० मा ३ दिनका लागि २ जीबी र रु. ९९ मा ७ दिनका लागि ४ जीबी डाटा लिन सकिनेछ ।
यो प्याकेज खरिद तथा एक्टिभेट गर्नका लागि ग्राहकहरूले आफ्नो मोबाइलबाट *145# डायल गरी प्राप्त निर्देशन अनुसार प्रक्रिया अगाडि बढाउनु पर्ने टेलिकमले जनाएको छ ।