सामाजिक सञ्जालमा मधेशी मूलका जस्तो देखिने एक व्यक्तिलाई प्रयाङ्क भनेर दुर्व्यवहार गरिएको भिडियो सार्वजनिक गरी साम्प्रदायिक घृणा तथा द्वेष फैलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार जिवन ओली नामक फेसबुक पेजमार्फत उक्त भिडियो सामग्री तयार गरी सामाजिक सञ्जालमा प्रसारण गरिएको थियो। भिडियोमार्फत जात, जाति तथा समुदायबीचको सद्भावमा खलल पुग्ने गरी साम्प्रदायिक द्वेष फैलाउने गतिविधि भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको हो।
यसैक्रममा शुक्रवार रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, माछिमीबाट तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–३ निवासी २८ वर्षीय डिल्ली बहादुर ओली, सोही स्थानका ३१ वर्षीय राजन केसी, तथा कपिलवस्तुको कृष्णनगर नगरपालिका–४, शिरसवा स्थायी घर भई हाल रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१, सल्लेमा पाउरोटी उद्योग सञ्चालन गर्दै आएका ३१ वर्षीय रघुबिर कोरी रहेका छन्।
प्रहरीले उनीहरूमाथि सामाजिक सञ्जालमार्फत सम्प्रदायिक घृणा वा द्वेष फैलाउने तथा जातीय र सामुदायिक सद्भावमा असर पुर्याउने सामग्री उत्पादन र प्रसारण गरेको आरोपमा थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रहरीले सामाजिक सद्भावमा असर पुग्ने, जातीय तथा साम्प्रदायिक विद्वेष फैलाउने वा कुनै समुदायलाई लक्षित गरी अपमानजनक सामग्री उत्पादन तथा प्रसारण नगर्न सबैलाई आग्रह गर्दै यस्ता गतिविधिमा संलग्न जो कोहीमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।