काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा दुई पटकको विश्वविजेता उरुग्वे र प्रतियोगिताको नवप्रवेशी टोली केप भर्डेले २-२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको मियामी स्टेडियममा सम्पन्न यस खेलमा केप भर्डेले बलियो उरुग्वेविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै अंक खोस्न सफल भयो ।
खेलको २१औं मिनेटमा केप भर्डेका केभिन पिनाले फ्रि-किकमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए, जुन केप भर्डेको विश्वकप इतिहासकै पहिलो गोलसमेत बन्यो । पहिलो हाफको अन्त्यतिर उरुग्वेले आक्रामक पुनरागमन गर्यो । ४४औं मिनेटमा माक्सिमिलियानो अराउजोले गोल गर्दै खेललाई बराबरीमा ल्याए भने पहिलो हाफको इन्जुरी समयमा अगुस्टिन कानोबियोले गोल गरेपछि उरुग्वेले २-१ को अग्रता बनायो ।
दोस्रो हाफमा केप भर्डेले फेरि खेलमा पकड बनायो र ६१औं मिनेटमा हेलियो वारेलाले गोल गर्दै खेललाई २-२ को स्थितिमा पुर्याए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र खेल बराबरीमा टुङ्गियो । यस बराबरीसँगै समूह ‘एच’ मा उरुग्वे र केप भर्डे दुवैको २-२ अंक भएको छ र उनीहरू क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । ४ अंक जोडेको स्पेन शीर्ष स्थानमा छ भने १ अंक पाएको साउदी अरब चौथो स्थानमा खुम्चिएको छ ।