भक्तपुर । पुरातात्विक सम्पदाको धनी सहरको रुपमा चिनिे मध्यपुुर थिमी नगरपालिका कलात्मक सहर हो । खास गरी २०७२ सालको भूकम्पपछि भग्नानाबशेमा परिणत भएका यहाँका पुरातात्विक सम्पदा अहिले नयाँ बनेका छन् । नगरपालिकाले पुुननिर्माण र नवनिर्माण गरेपछि अधिकांश सम्पदाले पुुनताजकि हासिल गरेका छन् ।
पहिला सम्पदाहरूले खासै चर्चा पाउन सकेका थिएनन् । अहिले मध्यपुुर थिमीका सबै सम्पदाले नयाँ जिवन प्राप्त गरेका छन् । पछिल्लो समय सम्पदा संरक्षणको अभियान नै चलेपछि भने मध्यपुर थिमि नगरपालिकाको स्वरूप परिवर्तन भएको छ । ‘जीर्ण बनेका हाम्रा सम्पदाको संरक्षण र प्रवद्र्धनको लामो पर्खाइलाई जनप्रतिनिधिको आगमनपछि पूर्णता दिने प्रयास जारी छ,’ मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले भन्नुुभयो । नगरपालिकाले गुरुयोजना बनाएर पाटी, सत्तल, मन्दिर, पुराना दरबार, ढुंगेधारा, पोखरी, प्रवेशद्वार सिँढी र डबली पुरानै मल्लकालीन शैलीमा पुनर्निर्माण तथा मर्मत गरेको गरिएका छन् । उहाँले भन्नुुभयो, ‘विकास र सम्पदाको सवालमा पक्ष प्रतिपक्ष नभएर सबैको सकारात्मक भूमिकाकै कारण मध्यपुरको कला, संस्कृति र सम्पदाको विकास गर्न सकिएको छ ।’
नेपाल संवतका प्रवर्तक शंखधर शाख्वाको नामबाट राखिएको मध्यपुर थिमिको शंखधर चोक धेरैजनालाई जानकारी भएको स्थान हो । तर शालिककै पछाडि रहेको डम्पिङस्थल तर्फ भने कसैको ध्यान जान सकेको थिएन । अहिले यो भिरालो स्थानले आकर्षक पार्कको स्वरूप पाएको छ ।
शंखधर चोक नजिक निर्माण भएको शंखधर पार्क । यो पार्कमा सार्वजनिक बहस तथा ह्याङ्गिङ् गार्डेन निर्माण गरिएको छ । इतिहासको कथा बोकेको मध्यपुरथिमिका दुई पोखरी बर्खामा हिलो र हिउँदमा घाँसे मैदानमा परिणत भएका थिए । त्यहाँ राजनीतिक सभा र खेलकुदका गतिविधि हुन्थे । तर अहिले दुई पोखरीले अहिले नयाँ स्वरूप पाइसकेका छन् । हाल यी पोखरी मध्यपुरवासीका लागि मात्र नभएर आन्तरिक पर्यटकहरूको रोजाइको स्थान बनेको छ ।
भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा अन्तर्गत बोडेमा मनाइने जिब्रो छेड्ने जात्रा हजारौंको सहभागिता हुन्छ । त्यही जात्रामा जिब्रो छेड्ने स्थान नजिकै रहेको एउटा घर कुनै समय दरबार थियो भन्ने कुरा धेरैलाई जानकारी थिएन होला । अहिले त्यही स्थानमा पुरानै शैलीमा दरबार निर्माण भएको छ ।
यस्तै जिब्रो छेड्ने जात्रा हुने स्थान नजिकै पनि पहिले डम्पिङसाइट थियो । तर अहिले त्यहाँ पनि पार्क निर्माण गरिएको छ । निर्माणकै क्रममा भए पनि आन्तरिक पर्यटकहरूको रोजाइको स्थल बनेको छ ।
हरेक वर्ष जात्राको समयमा स्थानीयवासी एक–दुई पटक धर्मकर्मका लागि मात्रै भए पनि जाने सो स्थानमा आकर्षक पार्कका रूपमा निर्माण गरिएका छन् ।
मध्यपुरथिमि क्षेत्रका जीर्ण मन्दिर, पाटी र सत्तलको समेत पुरानै शैलीमा जिर्णोउद्धार तथा मर्मत गरिएको छ । यहाँको विष्णुकुण्डले मर्मत पछि रूप फेरेको छ । ‘विष्णुकुण्ड खण्डहरमा परिणत भइसकेको थियो,’ पहिला यही पोखरीमा पौडी खेल्थेँ । यसको जिर्णोद्धारपछि अहिले उक्त पोखरीले बालापनको याद दिलाएको छ । विष्णुकुण्ड । धार्मिक तथा ऐतिहासिकरुपले महत्वपूर्ण मानिएको विष्णुकुण्डको अस्तित्व नै मेटिएको थियो । यो पुनः उत्खनन् गरेर बनाएको हो । ठूला सम्पदाहरूको मात्र नभएर साना सम्पदाहरूको समेत योजना बनाएर निर्माण कार्यलाई तीव्रता दिएर पोखरीहरुको उत्खनन् गरी पुरानै स्वरूप दिने काम जारी छ । पुराना इनार र ढुंगे धाराहरुको पनि मर्मत गरी पुरानै शैलीमा उपयोगमा ल्याउने काम गरिएको छ ।
काठमाडौँ उपत्यकाको भक्तपुरमा अवस्थित साविकका बोडे, नगदेश, चपाचो, बालकुमारी र लोकन्थली गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो । १७ वटा वडामा विभाजित यो नगरपालिकालाई देशमा सङ्घीय व्यवस्था लागू भएपछि वि.सं. २०७३ मा तत्कालिन नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र वि.सं. २०७३ फाल्गुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम यो नगरपालिकालाई ९ वटा वडामा सीमित गरिएको हो । यस नगरको पूर्वमा भक्तपुर र चाँगुनारायण नगरपालिका काठमाडौँ महानगरपालिकाको सिनामङ्गल, उत्तरमा कागेश्वरी मनोहरा नगरपालिका र दक्षिणमा सूर्यविनायक नगरपालिका र महालक्ष्मी नगरपालिका पर्दछन् ।
मध्यपुर थिमि नगरपालिकामा वग्ने मूख्य नदीहरुमा मनोहरा र हनुमन्ते छन् । यी नदीहरुको वहाव वर्षा याममा मात्र बढी हुने र अरु समयमा पानीको मात्रा ज्यादै कम हुने गर्दछ । मनोहरा नदी मणिचुडबाट निस्केर शालीनदी हुँदै काठमाडौ र भक्तपुर जिल्लाको सीमाना हँुदै बग्ने गर्दछ । जुन मध्यपुर थिमि नगरपालिकाको उत्तर पश्चिम सीमाना भएर वग्दछ । यो नदीमा हनुमन्ते खोला मिसिएपछि बाग्मती नदीमा मिसिन्छ । यसले काठमाडौ, भक्तपुर र मध्यपुर थिमि नगरपालिका क्षेत्रमा सिंचाई सुविधा पु¥याउनुका साथै जल प्रवाह गर्दछ ।
नगरपालिकामा रहेका मुख्य धार्मिक तथा ऐतिहासिक स्थलहरुमा निलबाराही, महालक्ष्मी मन्दिर, कुमारीको मन्दिर, सिद्धिगणेश मन्दिर, विश्वविनायक मन्दिर, सिद्धिकाली मन्दिर, दिगु भैरव मन्दिर, राज गणेश मन्दिर रहेका छन् । त्यस्तै स्वेतभैरव मन्दिर, गुरु गणेश, लोकेश्वर मन्दिर, थासोमा गणेश मन्दिर, बालकुमारी मन्दिर, ताहानारायण मन्दिर, बिष्णुवीर मन्दिर, वामुने गणेश मन्दिर, प्रथम गणेश, नगदेश बुद्ध विहार, पाटी बिहार, धर्मचक्र गुम्वा, शिवा गणेश मन्दिर, विश्वेश्वर महादेव, सिलेश्वर महादेव छन् । 
शोणे कामदेव मन्दिर, निलवर्ण गणेश मन्दिर, महालक्ष्मी मन्दिर, भवानी शंकर मन्दिर, दिव्यश्वरी मन्दिर, नित्यनाथ मन्दिर, आकाश भैरव मन्दिर, वसुन्धरादेवीको मन्दिर, नारायण मन्दिर, तछ्छु गणेश मन्दिर, अजिमाद्यो मन्दिर, इन्द्रायणी वम्हायानी मन्दिर, गोरखनाथ मन्दिर, हरिसिद्धि मन्दिर, तलेजु भवानी मन्दिर, कुशल भैरव मन्दिर, नवदुर्गा भवानी मन्दिर, नाट्यश्वरी मन्दिर, विन्दवासीनी (वडा नं. २) मन्दिर, कुकीइनाय गणेश मन्दिर, सूर्यविनायक मन्दिर, भक्ति मन्दिर श्यामाश्याम धाम राधेराधे मन्दिर, शंखधर साख्वा मन्दिर लगायतका रहेका छन् ।