काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालको सार्वजनिक ऋण दायित्व २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्षको सुरुआतदेखि जेठ मसान्तसम्म ऋण २ खर्ब ८७ अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भई जीडीपीको ४४.८७ प्रतिशत पुगेको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्षको सुरुआतमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण जेठ मसान्तसम्म आइपुग्दा २ खर्ब ८७ अर्ब १४ करोड रुपैयाँले बढेको हो। यो रकम देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.८७ प्रतिशत बराबर रहेको छ। कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.४९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.५१ प्रतिशत छ।
सरकारले विकास निर्माण, बजेट घाटा व्यवस्थापन तथा पूर्वाधार आयोजनाका लागि ऋण परिचालन गर्दै आएको भए पनि पछिल्ला वर्षमा ऋणको आकारसँगै त्यसको सेवा लागत पनि तीव्र रूपमा बढ्दै गएको देखिएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएको थियो। तर जेठ मसान्तसम्म ४ खर्ब १८ अर्ब १२ करोड रुपैयाँ मात्रै ऋण प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको ७०.२० प्रतिशत हो।
ऋण परिचालनमा आन्तरिक स्रोतको योगदान उल्लेखनीय देखिएको छ। आन्तरिक ऋण परिचालन लक्ष्यको ९३.५५ प्रतिशत पुगेको छ भने वैदेशिक ऋण परिचालन लक्ष्यको केवल ३४.०१ प्रतिशतमा सीमित भएको छ। कुल प्राप्त ऋणमध्ये ८१ प्रतिशत आन्तरिक र १९ प्रतिशत वैदेशिक ऋण रहेको छ।