काठमाडौं । नेकपा एमालेका सचेतक तथा सांसद ऐनबहादुर महरले सरकारले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति असन्तुष्टि जनाउँदै बजेटले जनअपेक्षा सम्बोधन गर्न नसकेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान सरकारबाट आर्थिक र सामाजिक रूपान्तरणको आधार बन्न सक्ने महत्वाकांक्षी बजेट आउने अपेक्षा गरिए पनि प्रस्तुत बजेट त्यसअनुसार नभएको बताए।
महरले अर्थमन्त्रीप्रति आफूले उच्च अपेक्षा राखेको स्मरण गर्दै बजेटको विषयवस्तुभन्दा पनि अर्थमन्त्रीको प्रस्तुतिकरण शैलीले थप निराश बनाएको टिप्पणी गरे।
उनले बलियो सरकारबाट मुलुकको विकास र परिवर्तनलाई गति दिने खालको बजेट आउने विश्वास रहे पनि बजेटले त्यसको अनुभूति गराउन नसकेको बताए। अर्थमन्त्रीको व्यवहार र प्रतिपक्षप्रतिको दृष्टिकोणले उनको विद्वतामाथि नै प्रश्न उठाएको महरको भनाइ थियो।
उनले अर्थमन्त्री प्रतिपक्षप्रति हेपाहा र अपमानजनक ढंगले प्रस्तुत भएको आरोप लगाउँदै संसदप्रतिको सम्मान र सहकार्यको भावना कमजोर देखिएको बताए।
महरले बजेट विभेदकारी रहेको दाबी गर्दै यसले दुर्गम क्षेत्र, गरिब तथा विपन्न समुदाय, महिला, बालबालिका, दलित तथा पछाडि पारिएका वर्गका आवश्यकता समुचित रूपमा सम्बोधन गर्न नसकेको बताए।
उनले बजेटलाई गैरजिम्मेवार र यथार्थभन्दा टाढाको दस्तावेजको संज्ञा दिँदै जनमत र जनअपेक्षाको सम्मान गर्न सरकार असफल भएको आरोप लगाए। बजेटमार्फत सामाजिक न्याय, समावेशी विकास र क्षेत्रीय सन्तुलन कायम गर्ने अवसर गुमाइएको उनको टिप्पणी थियो।