काठमाडौं । सोमबार सबै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेका छन् । कोशी प्रदेश सरकारले आगामी आव २०८३/८४ का लागि भने १२.७४ प्रतिशत बढाएर ४० अर्ब ४४ करोड बराबरको बजेट ल्याएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा ३५ अर्ब ८८ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।
मधेस प्रदेश सरकारले बजेट आकार उल्लेख्य कटौती गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सभामा ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरे । चालु आव २०८२/८३ मा मधेसले ४६ अर्ब ९८ करोड ३३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
बागमती प्रदेश सरकारले ७ प्रदेशमध्ये सबैभन्दा ठूलो आकारको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री प्रभात तमाङले सोमबार प्रदेश सभामा ६६ अर्ब ९३ करोड रुपैयाँ आकारको बजेट प्रस्तुत गरे । चालु आव बागमती प्रदेश सरकारले ६७ अर्ब ४६ करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
गण्डकी प्रदेश सरकारले आकार सामान्य वृद्धि गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जीतबहादुर शेरचनले आइतबार प्रदेश सभामा ३२ अर्ब ९९ करोड ९९ लाख बराबरको बजेट सार्वजनिक गरे । चालु आव गण्डकी प्रदेश सरकारले ३१ अर्ब ९७ करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा सोमबार आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ३७ अर्ब ३८ करोडकाे बजेट सार्वजनिक गरे । चालु आव लुम्बिनी प्रदेशले ३८ अर्ब ९१ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
कर्णाली प्रदेश सरकारका अर्थमन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्षको लागि ३५ अर्ब ३९ करोड बराबरको बजेट सार्वजनिक गरे । उनले चालु आवको तुलनामा ७.२८ प्रतिशतले बजेट आकार बढाएका छन् । चालु आव ३२ अर्ब ९९ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।
सुदूरपश्चिम प्रदेशले आगामी आवका लागि ३७ अर्ब ७० करोडकाे बजेट ल्याएकाे छ । चालु आवमा ३३ अर्ब ४७ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।