काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा अदालतमा रिट दर्ता भएको छ ।
बुधबार (आज) युवराज पौडेल (सफल) ले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेजको माग गर्दै रिट दर्ता गरोएका हुन् । लामिछानेविरुद्ध पेस भएको रिट सर्वोच्च अदालतले बुधबार दर्ता गरेको हो । उक्त रिटको पेसी जेठ १७ गते तोकिएको छ ।
उक्त रिटमा लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गर्ने आदेशको माग गरिएको छ । ‘विपक्षी रवि लामिछानेले सर्वोच्च अदालतको मिति २०७९–१०–१३ गतेको आदेशले कायम नरहेको भनि घोषित नागरिकताको प्रतिलिपि लिएर उपनिर्वाचनमा भाग लिएका हुँदा कायम नभएको नागरिकताको प्रतिलिपि वैध हुन् र नेपाली नागरिकता कायम हुन् वा पुनः प्राप्त भएको मान्न सकिँदैन,’ रिटमा माग भनिएको छ, ‘नेपालको संविधानको धारा ८७ (१) (क) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ (क) ले तोकेको योग्यता नपुगेको हुँदा नेपालको संविधानको धारा ८१ (ख) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ (क) को अवस्था विधमान भएको हुँदा उत्प्रेषणको आदेशले निज रवि लामिछानेको प्रतिनिधिसभा सदस्यको पद र सोसँग सम्बन्धित उम्मेदवारी एव निर्णय लगायतका सम्पूर्ण कार्यहरू खारेज गरी पाउँ ।’
लामिछानेले अमेरिकी नागरिकता त्याग गरिसकेको भन्ने प्रमाणित निस्सा पेस गर्न नसकेको जिकिर पनि रिट निवेदनमा गरिएको छ ।