काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको छ । निगम संचालक समितिको बैठकले मूल्यमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको हो । विगत केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आइरहेको छ । यस निर्णयसँगै विभिन्न वर्गका क्षेत्रहरूमा पेट्रोल र डिजेल/मट्टितेलको मूल्य पुरानै कायम रहनेछ ।
जसअन्तर्गत पहिलो वर्गका क्षेत्रहरू (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा पेट्रोलको मूल्य प्रतिलिटर २१४.५० रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य २२२.५० रुपैयाँ कायम रहेको छ ।
त्यस्तै, दोस्रो वर्गका क्षेत्रहरू (सुर्खेत र दाङ) मा पेट्रोल प्रतिलिटर २१६ रुपैयाँ र डिजेल/मट्टितेल २२४ रुपैयाँमा बिक्री हुनेछ ।काठमाडौँ, पोखरा र दिपायल समेटिएको तेस्रो वर्गका क्षेत्रहरूमा भने पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर २२५ रुपैयाँ नै यथावत रहने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।