काठमाडाैँ । पर्यटन कार्यालय काठमाडौंको आयोजनामा आइतबार मेलम्चीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालहरुबीच अन्तरक्रिया गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले विकासका लागि कृषिपछि पर्यटन रहेको बताइन् । मेलम्ची पर्यटकहरुको प्रवेशबिन्दु भएकाले यहाँ पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा उनले जोड दिइन् । अन्यत्र मानवनिर्मित संरचनाले पर्यटकलाई आकर्षित गरेका छन् भने नेपालमा प्राकृतिक सम्पदा रहेको भन्दै पर्यटकीय स्थलको प्रवद्र्धनका साथै प्रचारप्रसारमा लाग्नुपर्ने बताए ।
मेलम्ची नगरपालिका वडा नं ११ का पूर्ववडाध्यक्ष रुद्रप्रसाद दुलालले मेलम्चीका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरी पर्यटक भित्र्याउनुपर्ने बताए । मेलम्ची उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर धितालले पर्यटकहरुको प्रवेशबिन्दु मेलम्चीमा पर्यटकलाई अड्याउनका लागि केही विशेष काम गर्नुपर्ने बताए । उनले रेन्जपोस्ट रहेको डिलबाट पारिसम्म झोलुङ्गे पुल निर्माण गर्ने हो भने पर्यटकलाई मेलम्चीमा अड्याउन सकिने धारणा राख्दै पुल निर्माणमा लाग्नुपर्ने बताए ।

रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले विविध भाषा, कला, संस्कृतिको जगेर्नामा जोड दिनुपर्ने बताए । पुराना सामग्री राख्नेगरी संग्रहालय निर्माणका साथै कोसेली घर सञ्चालन गर्नुपर्नेमा जोड दिए । पर्यटन कार्यालय काठमाडौंका प्रमुख पवन पोख्रेलले कार्यालयबाट सम्पादित कार्यहरुका साथै भावी योजनाका बारे जानकारी दिए ।
पर्यटकीय क्षेत्रहरुको अभिलेखीकरणका साथै प्रवद्र्धनमा कार्यालय लागिपरेको बताए । बजेटको सीमितताका कारण धेरै काम गर्न नसके पनि समुदायसँगको साझेदारीमा धेरै काम गर्न सकिने धारणा राखे । कार्यक्रमको औचित्य प्रस्तुत गर्दै पर्यटन अधिकृत यज्ञबहादुर ओलीले पर्यटनका लागि सत्कार नै प्रमुख विषय रहेको बताए । उनले ग्रामीण पर्यटन विकास गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने धारणा राखे ।
पर्यटन व्यवसायी तथा सरोकारवालाहरुले मेलम्चीमा पर्यटकीय सम्भावना धेरै रहेकाले स्थानीय सरकारले बढी नै चासोपूर्वक काम गर्नुपर्नेमा जोड दिए । बजार क्षेत्रको सार्वजनिक ठाउँमा स्वच्छ खानेपानी र शौचालय व्यवस्था गर्नुपर्ने, बजार सरसफाइका साथै बगैँचा जोड्ने झोलुङ्गे पुल जीर्ण बनेकामा तत्कार मर्मत गर्नुपर्नेमा सहभागीहरुले माग राखेका छन् ।