काठमाडौँ । नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत रूपमा चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न संघको तेस्रो राष्ट्रिय अधिवेशन तथा नवौँ–दशौँ वार्षिक साधारणसभाले लामिछानेलाई आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रदीप राना मगर, महासचिवमा कुमारी बोगटी, सचिवमा डुक्पा घले तथा कोषाध्यक्षमा मनिषराज पाण्डे चयन भएका छन् । त्यसैगरी, देवेन्द्रकुमार श्रेष्ठ, सहर्देव ढुङ्गाना, टोपबहादुर पौडेल (अर्जुन), केशव निरौला, नवराज बिडारी, विकास श्रेष्ठ, तीर्थबहादुर बुढाथोकी र सुरजप्रसाद नेपाल सदस्यमा निर्वाचित भएका छन् ।
संघका अध्यक्ष रमेश कोइरालाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रयास कार्की, संघका कानुनी सल्लाहकार रुद्र ढुङ्गेललगायतले अटो व्यवसाय क्षेत्रको विकास, व्यवसायिक अनुशासन र उपभोक्ता विश्वास अभिवृद्धिका विषयमा धारणा राखेका थिए ।
अधिवेशनकै अवसरमा अटोमोबाइल तथा रिकन्डिसन अटो व्यवसाय क्षेत्रको प्रवर्द्धन र जनचेतना अभिवृद्धिमा पत्रकारितामार्फत योगदान पुर्याएको भन्दै पत्रकार कमला भण्डारी लाई ‘नेपाल रिकन्डिसन अटो व्यवसायी संघ पत्रकारिता पुरस्कार–२०८३’ प्रदान गरिएको थियो। पुरस्कारअन्तर्गत उनलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको संघले जनाएको छ ।
अधिवेशनले रिकन्डिसन अटो व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।