सबै पार्टीलाई बोल्न दिँदा आफूलाई किन बोल्न समय उपलब्ध नगराएको ? भन्दै हर्क साम्पाङले सभामुखलाई प्रश्न गरे । सभामुखले विपक्षी दलका सांसदहरूलाई रोष्ट्रममा आएर बोल्न समय दिएका थिए । तर श्रम संस्कृति पार्टीको तर्फबाट कसैले बोल्न समय पाएनन् । उनीहरूले आफूहरूलाई बोल्न समय नदिएको भन्दै असन्तुष्टि जनाएपछि सभामुखले नाम नटिपाएकोले आफूले बोल्न समय नदिएको जवाफ दिए । अध्यक्ष साम्पाङले प्रयोग गरेको शब्द गम्भीर, मर्यादा विपरीत र अपमानजनक रहेको सभामुखले बताए ।
उनले भने, ‘तपाईंहरुले मन्त्रीले बोल्दा पनि निरन्तर विरोध गरिरहनुभएको थियो, त्यसैले म तपाईंहरुलाई बोल्न समय दिन सक्दिनँ ।’
यसो भनेर सभामुखले नियमित कारवाही अघि बढाएलगत्तै श्रम संस्कृतिका सांसदहरुले रोष्ट्रम अगाडि आएर नारावाजी गरेका हुन् । उनीहरुले सभामुखले भेदभाव गरेको भन्दै मुर्दावादको नारा लगाएका छन् ।