राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले नेपाललाई सनातन राज्य बनाउनुपर्ने विषय उठाएपछि आफूलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने, शारीरिक आक्रमण गर्ने तथा बलात्कारको धम्की आएको बताएकी छिन्।
बुधबार संसद् बैठकमा बोल्दै ओलीले नेपालमा बहुसंख्यक नागरिक सनातन धर्मावलम्बी रहेको उल्लेख गर्दै सनातन राज्यको विषय उठाउँदा योजनाबद्ध रूपमा धम्की र दुर्व्यवहारकाे सामना गर्नुपरेको दाबी गरिन्।
उनले भनिन्, ‘९० प्रतिशत सनातनी बस्ने देशमा नेपाल सनातन राज्य हुनुपर्ने कुरा सदनमा उठाउँदा सुनियोजित रूपमा भौतिक आक्रमण गर्ने, ज्यान मार्ने र बलात्कारको धम्की सामाजिक सञ्जालमा आइरहेको छ। म व्यक्तिगत रूपमा सहन सक्छु, तर यो सिंगो सनातन धर्मप्रतिको प्रहार हो।’
ओलीले धर्म परिवर्तन वा धार्मिक आस्थासम्बन्धी निर्णय प्रत्येक व्यक्तिको स्वतन्त्र अधिकार भएको स्वीकार गर्दै फरक मत राख्नेहरूप्रति सम्मान हुनुपर्ने बताइन्।