काठमाडौँ । २०७९ सालमा नेकपा एमालेबाट उम्मेदवार भएका तर यसबीचमा विभिन्न पार्टीमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद रिक्त भएको छ । निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित गरी ती वडाध्यक्षहरूको पद रिक्त भएको जानकारी दिएको हो ।
पद रिक्त हुने वडाध्यक्षमा ओखलढुंगा मोलुङ गाउँपालिका–१ का वडाध्यक्ष कमलबहादुर बानिया रहेका छन् । ओखलढुंगा मोलुङ गाउँपालिका–६ का वडाध्यक्ष कमल तामाङको पद पनि रिक्त भएको छ । ओखलढुंगाकै चम्पादेवी गाउँपालिका–७ का वडाध्यक्ष सुरेशकुमार थापाको पद पनि रिक्त भएको छ ।
पाल्पा माथागढी गाउँपालिका–१ का वडाध्यक्ष राजकुमार पन्थी, ललितपुर बागमती गाउँपालिका–७ का वडाध्यक्ष होमप्रसाद बजगाईं, लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, मोरङ रंगेली नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार खनाल, घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मधुसुदन शर्माको पद पनि रिक्त भएको छ ।
यी सबै वडाध्यक्षहरूको पद राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ को उपनियम २ अनुसार रिक्त भएको हो। उक्त उपनियममा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको अवस्थामा पद रिक्त हुने प्रावधान छ ।
उनीहरूलाई दल त्यागअन्तर्गत पद रिक्तको सूचना टाँस गर्न एमाले सचिवालय बैठकले निर्वाचन आयोगलाई पत्र लेखेको थियो । आयोगले त्यही पत्रका आधारमा रिक्तको सूचना जारी गरेको हो ।