बाँके । महिलाहरुको लागि महिनावारी झोला (फ्रीडम कीट व्याग) बनाउने तालिम नेपालगन्जमा सम्पन्न भएको छ । सामाजिक बिकास डिभिजन बाँकेको सहयोग तथा दिदी बहिनी समाज बाँकेको आयोजनामा सो तालिम जेष्ठ २५ गते सम्पन्न भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १० का किशोरी तथा महिलाहरुका लागि सो तालिम आयोजना गरिएको थियो ।
सेनेटरी प्याडको बिकल्पको रुपमा कपडाको प्याड बनाउने तालिम आयोजना गरिएको सो संस्थाले जनाएको छ ।
संस्थाकि कार्यबाहक अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगरकार्यपालिका सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १० कि सदस्य बिना थापा मगरको प्रमुख आथित्यमा तालिम समापन भएको छ ।
सहसचिव शोभा थापा मगरले कार्यक्रम संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष कमला वलिले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथी थापाले छोटो अवधिको समयमा समेत सहभागिहरुले उत्कृष्ठ सिप प्रस्तुत गरेकोमा खुशी व्यक्त गरिन् । उनले तालिमको प्रभावकारितालाई मध्येनजर गरि तालिम गाउँ, गाउँमा गर्नुपर्ने बताईन् ।
तालिममा बोल्दै सामाजिक बिकास डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख ऋषिराज शर्माले तालिम प्रभावकारी भएको देख्दा खुशी लागेको बताए । उनले महिलाहरुको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि पुनः प्रयोग गर्न मिल्ने महिनावारी झोला (फ्रीडम कीट व्याग) बनाउने तालिम प्रभावकारी भएको बताएका थिए ।
गैरसरकारी संस्था महासँघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह, प्रशिक्षक अनिता न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेको उक्त तालिम ७ दिनसम्म संचालन भएको थियो ।
तालिम समापनमा सहभागिहरुको तर्फबाट कशौगर मेकरानी र सुसिला कुवँरले तालिमबाट महिनावारी शिक्षा बारे व्यवहारिक जानकारी प्राप्त गर्नुका साथै महिलाहरुका लागि महिनावारी झोला बनाउन सक्षम भएको खुशी व्यक्त गरे । तालिममा गैसस महासंघ नेपाल बाँकेका कार्यबाहक अध्यक्ष मन भण्डारी लगायतको उपस्थिती रहेको थियो । तालिम जेष्ठ १९ गते शुरु भएको थियो । तालिममा अनिता न्यौपाने र पार्वती कडायतले प्रशिक्षण दिएका थिए । तालिममा २० जना सहभागी हुनेछन् ।