काठमाडौँ । नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स)ले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो १ महिना अर्थात चालु आर्थिक वर्ष २०८२÷८३ को वैशाख महिनामा साढे २ खर्ब भन्दा बढी (रेमिट्यान्स नेपाल भित्रिएको हो । मासिक तथ्यांक हेर्दा यो रकम हालसम्मकै उच्च हो । यो वैशाख महिनामा २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष २०८१÷८२ को वैशाख महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको थियो । चालु आवको वैशाख महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म)मा १९ खर्ब १६ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको वैशाखको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
गएको १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५ सय १० र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख २६ हजार ३ सय ६४ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५ हजार ६१० र २ लाख ८० हजार ३१४ रहेको थियो ।
३७ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो १० महिना (साउनदेखि वैशाखमसान्त)मा कुल विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले बढेर ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा सञ्चिति २४ प्रतिशतले बढेर २४ अर्ब १९ करोड डलर पुगेको छ । राष्ट्र बैंकका अनुसार हालको विदेशी मुद्रा सञ्चिति २२.६ महिनाको वस्तु आयात तथा १९.२ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त छ ।
सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको विदेशी मुद्रा ३२ खर्ब ९८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ भने बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति ४ खर्ब ६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.६ प्रतिशत रहेको छ ।
शोधनान्तर स्थितिमा उल्लेख्य रूपमा
अर्को महत्वपूर्ण सूचक शोधनान्तर स्थिति पनि उल्लेख्य रूपमा सुधारिएको छ । समीक्षा अवधिमा शोधनान्तर बचत ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा शोधनान्तर बचत ५ अर्ब ९८ करोड डलर पुगेको छ ।
त्यस्तै चालु खाता बचत पनि ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता बचत २ खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा चालु खाता बचत ५ अर्ब ५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।