काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतमा सह-सचिव सिर्जना थपलियालाई जिम्मेवारी दिएको छ । गृह मन्त्रालयले शुक्रबार १६ जना सह-सचिव सरुवा गरेको हो ।
हाल संखुवासभाको प्रमुख जिल्ला अधिकारी रहेकी थपलियालाई महत्त्वपूर्ण मानिने विमानस्थल अध्यागमन प्रमुखको जिम्मेवारी दिइएको हो । यसअघि विमानस्थल अध्यागमन प्रमुख नरहरि घिमिरे ललितपुरको प्रमुख जिल्ला अधिकारी भएर गएका थिए । उनको सरुवासँगै रिक्त रहेको स्थानमा थपलियालाई खटाइएको छ ।
यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुखमा बलराम निरौला सरुवा भएका छन् । उनीहरूसँगै १३ जिल्लामा प्रमुख जिल्ला अधिकारी पनि हेरफेर गरिएको छ ।