काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मधेस तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आगामी ३ दिनसम्म तातो हावा चल्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । विभागले बिहीबार साँझ विशेष बुलेटिन जारी गर्दै तराईका केही जिल्लामा सावधानी अपनाउन अनुरोध गरेको हो । विभागको मौसम पूर्वानुमान महाशाखाले विभिन्न १४ जिल्लामा सतर्क रहन र अन्य ७ जिल्लामा अद्यावधिक रहन अनुरोध गरेको छ ।
आगामी ३ दिन कोसी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी रहने सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । उनका अनुसार बिहीबार भैरहवामा ४१ डिग्री र नेपालगन्जमा ४० डिग्री तापक्रम मापन भएको छ । मधेस र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै ठाउँमा आगामी ३ दिनसम्म मध्यम तातो लहर हुने पनि महाशाखाले जनाएको छ । ‘कोसी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तातो दिन हुने सम्भावना छ । त्यसैले गर्मीबाट जोगिने उपाय अपनाउनुहोला,’ विभागले भनेको छ । महाशाखाले गर्मी अत्यधिक बढिरहेकाले विशेष ख्याल गर्न सबैमा अनुरोध गरेको छ ।
जोगिने उपाय
तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसी दुख्ने, बान्ता हुनेलगायत लक्षण देखिन सक्ने भएकाले सोबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ । तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान र चर्को घाममा बाहिर ननिस्किन तथा हल्का लुगा (सुतीका कपडा) लगाउन मौसमविद् पुडासैनीले अनुरोध गरे । उनका अनुसार बाहिर निस्किँदा टाउको छोप्ने टोपी लगाउन, पटक–पटक पानी तथा झोल पदार्थ (जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्नेछ ।