काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र घर खाली गरेर सामान लैजान सूचना जारी गरेको छ । टिभीका अध्यक्ष गितेन्द्र बाबु राईलाई घर भाडा तिरेर सामान लैजान १५ दिने सूचना जारी भएको हो ।
काठमाडौँ–३ का मृगेन्द्र प्रसाद मिश्रसमेतले ‘भाडा असुल उपर गरी घर जग्गा खाली गराई पाउँ’ भनेर दिएको निवेदनमा महानगरपालिकाको न्यायिक समितिले २०८१ कात्तिक १४ गते नै घर जग्गाको बहाल रकम र बहाल कर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रतिवादीबाट भराई घरजग्गा समेत खाली गराइदिने निर्णय गरेको थियो ।
यस्तै, २०८२ साउन २८ गते उच्च अदालत पाटनले (दुई) महिनाभित्र न्यायिक समितिबाट भएको निर्णय कार्यान्वयन गर्न काठमाडौँ महानगरपालिका समेतको नाममा परमादेशको आदेश जारी पनि भएको थियो । अदालतको आदेश बमोजिम मिति २०८२ कात्तिक १४ गते महानगरको डोर खटी गई निर्णय कार्यान्वयन गरिएको थियो ।
निर्णय कार्यान्वयन गरेको ६ महिना पूरा भएपछि मिश्रले वैशाख २१ गते फेरि निवेदन दिएपछि १५ दिनभित्र घरधनीलाई बुझाउनुपर्ने बहाल रकम बुझाई आफ्नो सरसमान लैजान सूचना जारी भएको हो ।