नेपालमा विगत एक दशक (२०७३ देखि २०८२ सम्म) मा मनसुनजन्य विपद्का कारण ठुलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन पोर्टलको तथ्याङ्क अनुसार यस अवधिमा बाढी, पहिरो, भारी वर्षा र चट्याङ जस्ता प्राकृतिक प्रकोपका कारण ३ हजार ७४ जनाको मृत्यु भएको हाे । मनसुनजन्य विपद्बाट ५०२ जना अझै बेपत्ता छन् ।
विगत १० वर्षमा घटेका कुल १३ हजार १६७ वटा मनसुनजन्य विपद्का घटनामा ४ हजार ७६९ जना घाइते भएका छन्, भने ३३ हजार १९८ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
पहिरोबाट सबैभन्दा बढी मानवीय क्षतिप्राप्त तथ्याङ्क अनुसार मनसुनको समयमा आउने पहिरो नेपालीका लागि सबैभन्दा घातक बनेको छ । पहिरोमा परेर १ हजार ४८३ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परी २३२ जना बेपत्ता र १ हजार ३४७ जना घाइते भएका छन् ।
बाढीका कारण ६७८ जनाको मृत्यु भएको छ, भने २६९ जना बेपत्ता भएका छन् । बाढीका कारण मात्रै २३ हजार ८०५ घरपरिवार प्रभावित भएका छन् । १० वर्षमा चट्याङका कारण ८०५ जनाको मृत्यु भएको छ, भने २ हजार ८८३ जना घाइते भएका छन् ।