काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित युरोपेली सङ्घ (इयू)मा आवद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे इयू अन्तर्गत २२ देश तथा दक्षिण–पूर्वी एशियाली मुलकका गरी ३० भन्दा बढी कूटनीतिज्ञसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ ।
यस्तै बैठकमा नेपाललाई अतिकम विकसित देशको समूमा यथावत राखी अन्तर्राष्ट्रिय समर्थन जुटाउने तथा युरोपेली संघको हवाई सुरक्षा ‘कालोसूची’ बाट नेपाललाई हटाउने विषयमा पनि पहल गरिने बुझिएको छ ।
यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।