- दिपेन्द्र प्रसाद अवस्थी
समय एउटा यस्तो अदृश्य नदी हो, जसको बहाव बाहिरबाट हेर्दा शान्त र कञ्चन देखिन्छ, तर यसको गहिराइमा बग्ने परिवर्तनका
छालहरू निकै शक्तिशाली, गतिमान र बेगीवान् हुन्छन्। दैनिक जीवनको
दौडधूप, जीविकोपार्जनको चटारो र व्यवसायको
व्यस्ततामा रुमल्लिरहँदा हामी कहिलेकाहीँ आफ्नै अनुहार ऐनामा हेर्न र आफ्नो
अस्तित्वको वास्तविक मूल्याङ्कन गर्न भुल्छौँ। तर अचानक कुनै दिन, गाउँको चौतारीमा सुस्ताउँदा वा सहरको
व्यस्त सडकको फुटपाथमा हिँड्दै गर्दा एउटा अनौठो र गहिरो कौतूहलले मनको ढोका
ढकढक्याउन आइपुग्छ। वरिपरि नियाल्दा भेटिने मानिसहरू र बजारका अनुहारहरू हिजोका
जस्ता लाग्दैनन्। बाटोमा साना-साना पाइला कोर्दै, काँधमा स्कुलको झोला बोकेर हिँड्ने ती कलिला नानीबाबुहरूलाई
देख्दा मनको भित्री कुनाबाट एउटा मीठो तर गम्भीर आवाज आउँछ—"अहो! यिनीहरू त
ठ्याक्कै मेरै छोराछोरीको उमेरका पो रहेछन्।" हिजोसम्म हामी यो समाजका लागि 'भाइ', 'बाबु' वा 'नानी' थियौँ र मार्गनिर्देशन खोज्ने पुस्ताको रूपमा बाँचिरहेका
थियौँ। तर आज समयको क्षितिज बदलिएको छ; अब हामी धेरैका लागि 'दाइ' वा 'दिदी' भएका छौँ, कतिका लागि 'अंकल वा आन्टी' त कतिपय नयाँ कलिला ओठहरूबाट 'बा' वा 'बाजे' को आदरार्थी ध्वनि गुञ्जन थालिसकेको छ।
यो केवल उमेरको एउटा अङ्क गणित बढेको होइन, यो त समयको महाकाव्यमा हाम्रो पाना पल्टिएको र इतिहासले
हाम्रो काँधमा नयाँ जिम्मेवारी सुम्पेको अकाट्य सङ्केत हो। हामी बिस्तारै त्यो
विन्दुमा आइपुगेका छौँ, जहाँ हिजो हाम्रा बा-आमा र अग्रजहरू
उभिएका थिए। हाम्रो यही जीवन-चक्र र समयको गतिलाई पूर्वीय दर्शनको नीतिशास्त्रले
यसरी अमर वाणीमा बाँधेको छ:
गतो धर्मो गतं रूपं गतं बलमनामयम् ।
गतं विज्ञानमैश्वर्यं सर्वं कालेन जीर्यते ॥
अर्थात्: समयको क्रूर गतिसँगै मानिसको रूप, बल, बैँस, health (स्वास्थ्य), ज्ञान र ऐश्वर्य सबै बिस्तारै बदलिन थाल्छ र जीर्ण बन्दै
जान्छ। कालचक्रको यो नियम संसारको कुनै पनि आदेश वा शक्तिका अगाडि कहिल्यै रोकिँदैन।
मानव इतिहासको सबैभन्दा सुन्दर र न्यायपूर्ण नियम नै पुस्तान्तरण हो। हिजो
हामी केटाकेटी हुँदा सोच्ने गर्थ्यौँ—यो समाज, यो नीति-नियम र यी सारा व्यवस्थाहरू चलाउने मानिसहरू अर्कै
संसारका परिपक्व र विशिष्ट मानिसहरू हुन्, जसको अनुहारमा जिम्मेवारीका गहिरा धर्साहरू छन्। तर आज जब म
आफ्नो कार्यक्षेत्र, सूचना प्रविधि (IT) को संसार, बजार र सामाजिक बैठकहरू नियाल्छु, तब त्यहाँ हाम्रै उमेरका दौँतरीहरू र
हाम्रै साथीभाइहरू देशलाई गति दिइरहेको निर्णायक ठाउँमा भेटिन्छन्। आजको युग
प्रविधिको युग हो, र म आफैँ यस सूचना प्रविधिको क्षेत्रमा
क्रियाशील रहँदै गर्दा एउटा कुरा के महसुस गर्छु भने—आजको युवा पुस्तासँग इन्टरनेट
र आधुनिक प्रविधिको यति ठूलो शक्ति छ, जुन इतिहासमा कसैसँग थिएन। तर, के हामीले यो शक्तिको सही सदुपयोग
गरिरहेका छौँ? कि हामी सामाजिक सञ्जालको सतही र सस्तो
भाइरल संसारमा अल्झिएर आफ्नो सुनौलो समय बर्बाद गर्दैछौँ? यो प्रश्नमा आज हरेक युवाले गम्भीर भएर
चिन्तन गर्नुपर्ने बेला आएको छ। किनकि म भन्छु—वर्तमानका असली कर्णधार अब हामी
नै हौँ। हिजो स्कुलका किताबहरूमा हामीले पढ्ने
गरेको त्यो ‘भोलिका कर्णधार’ भन्ने शब्दको भोलि आज आइसकेको छ। यो समाजको वर्तमानको
स्टेरिङ ह्विल अहिले हाम्रै हातमा छ। हाम्रा अग्रजहरू आफ्नो पसिनाको गुन तिरेर
बिस्तारै सन्ध्याकालीन विश्रामको छहारीतर्फ जाँदैछन् र नयाँ पुस्ता अझै हिँड्न
सिक्दैछ। त्यसैले, यो मध्याह्नको रापिलो घाममा उभिएर समाजको
भारी बोक्ने पालो अब पूर्ण रूपमा हाम्रै काँधमा आइपुगेको छ।
अहिले हामी युवाहरू जीवनको जुन जोशिलो र शक्तिशाली मोडमा छौँ, यो ओछ्यानमा पल्टिएर पुराना दिन सम्झिने
वा अल्छी गरेर समय काट्ने बेला कत्ति पनि होइन। अहिले जे रगत बगाउनु छ, जे पसिना बगाउनु छ, यही उमेरमा र अहिल्यै बगाउने हो, किनकि हामी अहिले ढुङ्गा पचाउने र आगो ओकल्ने उमेरको प्रचण्ड ऊर्जामा छौँ। तर प्रश्न
उठ्छ—आजको कर्णधारले यो ढुङ्गा कसरी पचाउने अनि आगो कसरी ओकल्ने? ढुङ्गा पचाउनु भनेको जीवनमा आइपर्ने
जस्तोसुकै कठोर सङ्कट, गरिबी, र असफलताका पहाडहरूलाई पनि आफ्नो दह्रो आत्मबल र अनुशासनको
बलले पगालेर आत्मसाथ गर्नु हो। जब बाहिरी दुनियाँले हाम्रा अगाडि चुनौतीका
ढुङ्गाहरू फ्याँक्छ, तब विचलित नभई ती कठिन परिस्थितिलाई
अनुभवको ऊर्जामा बदल्नु नै ढुङ्गा पचाउनु हो। अनि आगो ओकल्नु भनेको रिस वा ध्वंस
होइन, बरु आफ्नो भित्री क्षमता, सिर्जनशीलता, र सूचना प्रविधिको नवीन क्रान्तिलाई यसरी
प्रस्फुटन गराउनु हो कि जसको रापले समाजका सारा विकृति, गरिबी र निराशा भष्म होउन्। आफ्नो संकल्प
र श्रमको बलमा असम्भवलाई सम्भव तुल्याएर समाजलाई नयाँ दिशा दिनु नै आगो ओकल्नु हो।
हाम्रो नसा-नसामा बगिरहेको यो तातो रगत केवल एउटा शारीरिक तरल पदार्थ होइन, बरु यो समाजका तमाम विकृतिहरू विरुद्ध
लड्ने एउटा बलियो राँको हो। शरीरमा तागत, हत्केलामा श्रम र मस्तिष्कमा स्पष्ट दृष्टिकोण भएको योभन्दा
स्वर्णिम समय जीवनमा अर्को कहिल्यै आउने छैन। हामीले आजै कठोर मिहिनेत गर्नुपर्छ, ताकि भोलि बुढ्यौलीको आँगनमा पुगेर, ऊर्जा समाप्त भएको बेला विगत अर्थात्
भूतलाई सम्झेर वर्तमानमा रुन र छटपटाउन नपरोस्। जीवनको उत्तरार्धमा पुगेपछि
"त्यसबेला समय र शक्ति हुँदा मैले किन गरिनँ?" भन्ने पछुतोको आँसु झार्नु भन्दा आज कार्यक्षेत्रमा बगाएको
पसिना र रगतको थोपा हजार गुणा बढी मूल्यवान् छ। भूतकाल एउटा यस्तो ऐना हो जसलाई
हेरेर रुनुको कुनै अर्थ छैन, त्यसैले आजै
वर्तमानको माटोमा आफ्नो श्रमको बीउ रोपौँ। अल्छीपन र बहानाबाजीलाई त्यागेर जे
गर्नु छ—यही उमेरमा, अहिल्यै गरिहालौँ। आज बगाएको पसिनाले नै
भोलि हाम्रो वृद्ध अवस्थालाई सुरक्षित बनाउनेछ।
हामीले युवा जागरूकता र देश निर्माणको कुरा गरिरहँदा, हाम्रो वरिपरि रहेका १ देखि ८ वर्ष
उमेरका ती अबोध नानीबाबुहरूलाई बिर्सन मिल्दैन, जहाँ मानिसको मस्तिष्कको ८५ प्रतिशत विकास भइसकेको हुन्छ।
तर यहाँनेर आज एउटा ठूलो कमजोरी भइरहेको छ—हामीले हाम्रा बच्चाहरूलाई केवल खुसी र
सफलतामा मात्र रमाउन सिकाइरहेका छौँ। उनीहरूले जे माग्यो त्यही पुर्याइदिने र
संसारमा दुःख नै छैन जस्तो पारिदिने भूल हामीबाट भइरहेको छ। हामीले उनीहरूलाई
जीवनमा आउने निराशा, असफलता र दुःखलाई कसरी पचाउने भन्ने कुरा
सिकाउनु अझ बढी जरुरी भइसकेको छ। यदि आज हामीले यो १ देखि ८ वर्षको उमेरमा
उनीहरूलाई सानो हार वा इच्छा पूरा नहुँदा पनि धैर्य गर्न र निराशालाई जितेर पुनः
अगाडि बढ्न सिकाएनौँ भने, भोलि यही पुस्ता युवा हुँदा जीवनको सानो
ठक्कर लाग्ने बित्तिकै गल्र्यामगुर्लुम ढल्नेछ, कुलतमा फस्नेछ वा डिप्रेसनको सिकार हुनेछ। आजका युवाहरूले
यी बच्चाहरूलाई हाँस्न मात्र होइन, रोएर पनि पुनः उठ्न सिकाउनुपर्छ। हामीले उनीहरूका लागि एउटा
यस्तो मानसिक रूपमा सबल जग निर्माण गरिदिनैपर्छ, जहाँ उनीहरूले सफलताको मात र असफलताको घात दुवैलाई सन्तुलित
रूपमा पचाउन सकून्।
आफ्नो जोश र पसिना बगाउने होडमा हामीले एउटा कुरा कदापि बिर्सन हुँदैन—हाम्रा
आदरणीय अग्रजहरूको सम्मान। हामी ढुङ्गा पचाउँछौँ र आगो ओकल्छौँ भन्दैमा, नयाँ प्रविधि र रफ्तारको मातमा मात्तिएर
आफ्ना अग्रजहरूलाई हेप्ने, उनीहरूको अवमूल्यन
गर्ने वा उनीहरूलाई पाखा लगाउने भूल युवा पुस्ताबाट कत्ति पनि हुनु हुँदैन। जोसले गति त दिन्छ, तर सही दिशा केवल अग्रजहरूको होस, त्याग र लामो अनुभवबाट मात्र प्राप्त
हुन्छ। आज हामीसँग जतिसुकै आधुनिक ज्ञान र गति भए पनि अग्रजहरूको काँधमा देश र
समाज सम्हालेको जुन गहिरो जीवनदर्शन छ, त्यो हाम्रो पुस्ताको सबैभन्दा ठूलो मार्गदर्शक र पूँजी हो।
अग्रजहरूको अनुभवलाई आफ्नो जोससँग जोड्न सक्यौँ भने मात्रै हाम्रो प्रगति दिगो र
मर्यादापूर्ण हुन्छ। आफ्नो जरा र इतिहासलाई भुलेर धुरीमा पुग्न खोज्ने रुख पहिलो
हावाको झोक्कामै ढल्छ। त्यसैले, "म पनि भोलि बुढो
हुन्छु" भन्ने शाश्वत सत्यलाई स्वीकार गर्नु कुनै निराशावाद वा कमजोरी होइन, यो त प्रकृतिको महान् नियम र अग्रजहरूको
अनुभवलाई उच्च आदर गर्नु हो। शिशिर ऋतुमा पुराना पातहरू झरेपछि मात्रै वसन्तको
नयाँ पालुवा पलाउँछ; रूखका पुराना पातहरू पहेँलिएर भुइँमा
खस्नुको अर्थ रुख मर्नु होइन, बरु नयाँ
कोपिलाहरूका लागि ठाउँ खाली गरिदिनु र रुखलाई पुनर्जीवन दिनु हो। बुढ्यौलीको यो
अवस्था भनेको केवल कपाल सेतो हुनु, ढाड कुप्रिनु वा छाला चाउरी पर्नु मात्र होइन, यो त जीवनभरिका हन्डर, ठक्कर, हर्ष र रोदनका अनुभवहरूको निचोड संकलन भएको एउटा जीवन्त र
अमूल्य पुस्तकालय बन्नु हो। हामीले आज वर्तमानमा गर्ने कर्म, नयाँ पुस्तालाई दिने संस्कार र
अग्रजहरूलाई गर्ने आदरले नै हाम्रो भोलिको बुढ्यौली कति सम्मानित र सुखद हुन्छ
भन्ने कुराको फैसला गर्छ। समाजमा वृद्ध र अनुभवी मानिसहरूको कति ठूलो महत्व हुन्छ
भन्ने कुरालाई महाभारतको
उद्योग पर्व (विदुर नीति) यसरी अकाट्य सत्यका रूपमा प्रस्तुत गरेको
छ:
न सा सभा यत्र न सन्ति वृद्धाः,
न ते वृद्धा ये न वदन्ति धर्मम् ।
अर्थात्: त्यो कुनै वास्तविक सभा वा समाज नै होइन जहाँ
अनुभवी र वृद्ध मार्गदर्शनहरूको उपस्थिति हुँदैन, र उनीहरू पनि वृद्ध वा आदरणीय होइनन्
जसले धर्म, न्याय, सत्य र सही मार्गको कुरा गर्दैनन्।
आज हामी युवाहरूले जे कर्म गर्छौँ र जुन इमानदारिताको बाटो समात्छौँ, भोलि त्यही अनुभवको पूँजी बाँडेर नयाँ
पुस्तालाई मार्गनिर्देशन गर्ने सम्मानित 'वृद्ध' बन्ने सौभाग्य हामीलाई मिल्नेछ।
समयको यो चक्र र घडीको सुइरो संसारको कुनै पनि शक्तिका लागि रोकिँदैन र कसैलाई
पर्खँदैन। हामी पनि आज वर्तमानको कोलाहलबाट गुज्रँदै भोलि इतिहासको पानामा
रूपान्तरण हुनेछौँ। तर सबैभन्दा महत्त्वपूर्ण र गौरवको कुरा के हो भने—जबसम्म हामी
यो जीवन रूपी रंगमञ्चको मुख्य भूमिकामा छौँ, जबसम्म हाम्रो हातमा शक्ति र ऊर्जा छ, तबसम्म आफ्नो अभिनय र आफ्नो कर्म यति
जोडदार र इमानदार गरौँ कि, भोलि आउने पुस्ताले हाम्रो पदचापमा
हिँड्दा गर्वको अनुभूति गरोस्। बाटोमा हिँड्दा आफ्नै उमेरका मानिसहरू भेटिनु, समाजका विभिन्न क्षेत्रमा आफ्नै समकालीन
साथीहरूले नेतृत्व सम्हालेको देख्नु र १ देखि ८ वर्षका साना नानीबाबुहरूमा देशको
भविष्य देख्नु यस कुराको अकाट्य प्रमाण हो कि हामी अहिले जीवनको सबैभन्दा
महत्त्वपूर्ण र शक्तिशाली 'वसन्त' मा उभिएका छौँ। यो वसन्तलाई केवल ढल्किँदै गएको उमेरको
रूपमा मात्र हेरेर चिन्तित वा उदासीन नबनौँ, यसलाई त समाज, आफ्नो परिवार, हाम्रा आदरणीय अग्रजहरू र आगामी पुस्ताको सुखद भविष्य
निर्माण गर्ने एउटा स्वर्णिम, उर्जावान् र
ऐतिहासिक अवसरको रूपमा स्विकारौँ। किनकि, हिजो हामी भविष्य थियौँ, आज हामी वर्तमान हौँ, र हाम्रै काँधको जगमा भोलिको एउटा सुन्दर, समृद्ध र न्यायपूर्ण नेपालको नक्सा
कोरिएको छ। त्यसैले सम्पूर्ण युवा साथीहरू, जागौँ, सोचौँ, निराशालाई पचाउन सिकौँ, अग्रजहरूलाई सम्मान गरौँ र आफ्नो रगतको
ताप मर्न नदिऔँ; जे गर्नु छ, अहिल्यै गरौँ, आजै गरौँ!
(लेखक अवस्थी विगत लामो समयदेखि सूचना
प्रविधि (IT) क्षेत्रमा क्रियाशील युवा उद्यमी तथा
समसामयिक, सामाजिक एवं युवा सरोकारका विषयहरूमा
गम्भीर चिन्तन राख्ने प्रखर विचार लेखक हुन् ।)