काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने भएको छ । यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागिएको हो । यस सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघबीच औपचारिक सम्झौता भएको छ । सम्झौतापत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यहीँ जेठ १५ गतेदेखि विशेष ट्याग लगाइने भएको छ । यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिने बताइएको छ । यसले यात्रुको सामान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।