काठमाडौँ । ६ जना सहसचिवको सरुवा गरिएको छ। मंगलबार सरकारले पाँच जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाएर पठाएको छ ।
गृह मन्त्रालयले आन्तरिक निकायहरूमा सहसचिवहरूलाई सरुवा गरेको हो । त्यस्तै एक जनालाई कारागार व्यवस्थापन विभागमा महानिर्देशकको जिम्मेवारी दिएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ललितपुर, भक्तपुर, रुपन्देही, दाङ र सिन्धुपाल्चोक गरि पाँच महत्त्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बद्लिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेलाई जिल्ला प्रशासन कार्यालय ललितपुरको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रजिअ बिनोध कुमार खड्कालाई जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रजिअ बनाई पठाइएको छ।
जिल्ला प्रशासन कार्यालय दाङका प्रजिअ बिश्व प्रकाश अर्याललाई रुपन्देहीको प्रजिअको जिम्मेवारी दिइएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत निश्चल राज पाण्डेलाई दाङको प्रजिअको रूपमा सरुवा गरिएको छ ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक शशीधर घिमिरेलाई सिन्धुपाल्चोकको प्रजिअ बनाइएको छ ।
रुपन्देहीका प्रजिअ माधव प्रसाद पोखरेललाई कारागार व्यवस्थापन विभाग, कालिकास्थानको महानिर्देशक पदमा सरुवा गरिएको छ ।