काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट सिफारिस समितिले ४ जनाको नाम संक्षिप्त सूचीमा राखेको छ । आवेदक ४७ जनाबाट ४ जनालाई संक्षिप्त सूचीमा राख्दै समितिले छलफलका लागि ८ गते अर्थ मन्त्रालयमा आउन भनेको हो । सूचीमा पहिलो नम्बरमा बोर्डकै पूर्वकार्यकारी निर्देशक डा. नवराज अधिकारी छन् ।
त्यसैगरी बोर्डमै कार्यकारी निर्देशक रहेका विनयदेव आचार्य दोस्रो नम्बरमा रहेका छन् । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री तेस्रो नम्बरमा रहेका छन् । राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक डा.गोपालप्रसाद भट्ट चौथो नम्बरमा छन् ।
बोर्ड अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ३ अनुसार समिति गठन गरिएको थियो । समितिले वैशाख १५ मा इच्छुक व्यक्तिको विवरण माग गरेको थियो । तोकिएको म्यादभित्र ४७ जनाले आवेदन दिएका थिए । योसँगै अर्थमन्त्रीले उक्तमध्ये ३ जनाको नाम मन्त्रिपरिषद्मा लैजान्छन् । त्यसपछि मन्त्रिपरिषद्बाट १ जना बोर्ड अध्यक्ष नियुक्त हुनेछन् ।