काठमाडौँ । साल्पासिलिछो सांस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव-२०८३ भव्य रूपमा सम्पन्न भएको छ । साल्पासिलिछो गाउँपालिका र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको आर्थिक सहयोग तथा साल्पा संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास केन्द्र, साल्पासिलिछो भोजपुरको आयोजनामा वैशाख १८ गते साल्पासिलिछोस्थित माबु बजारमा सो महोत्सव सम्पन्न भएको हो ।
साल्पा संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास केन्द्रका अध्यक्ष प्रमोद राईको अध्यक्षता तथा राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) को प्रमुख आतिथ्यमा महोत्सव-२०८३ सम्पन्न भएको हो। महोत्सवमा विशिष्ट अतिथिको रूपमा साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङ र उपाध्यक्ष अस्मिता कुलुङको उपस्थिति रहेको थियो भने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडा र अन्य विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
नेपाल सरकारद्वारा घुम्नैपर्ने १०० पर्यटकीय गन्तव्य स्थलको रूपमा सूचीकृत तथा कोशी प्रदेश सरकारको पर्यटकीय गौरवको आयोजना अन्तर्गत विश्वकै एक सुन्दर, शान्त र मनोहर पदमार्ग—मुन्दुम पदमार्ग साथै सो पदमार्गको गन्तव्यमा पर्ने ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय स्थल साल्पा पोखरी र सिलिछो/सिलुछो क्षेत्रको संस्कृति, साहित्य र प्रकृतिको संरक्षण गर्ने उद्देश्य राखिएको छ। मुन्दुम/रीदुम पदमार्गको प्रवर्द्धन गरी यससँग जोडिएका विभिन्न जिल्ला र सम्बन्धित गाउँपालिकाहरूको सामाजिक, आर्थिक विकास गर्ने तथा आम नागरिकलाई स्वरोजगार सिर्जना गर्दै गरिबी निवारण गर्ने प्रमुख उद्देश्यका साथ सांस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव आयोजना गरिएको साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङले जानकारी दिएका छन् ।
महोत्सव सफल बनाउन तथा साल्पाको दर्शन गर्न भोजपुर, सोलुखुम्बु, खोटाङ, सङ्खुवासभा, झापा, मोरङ, सुनसरी, काठमाडौँ, पोखरा तथा छिमेकी राष्ट्र भारतको सिक्किम लगायतका क्षेत्रबाट तीर्थालु भक्तजनहरूको भव्य उपस्थिति रहेको थियो । यस्तै सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका, भोजपुरको साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिका तथा सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाबाट धामीझाँक्रीहरूको व्यापक उपस्थिति रहेको थियो ।
महोत्सवमा मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकी, उपाध्यक्ष कृष्णप्रसाद चापागाईँ, सचिव भरत कुलुङ, सह-सचिव सनम थापा, सदस्य राजेन्द्र सर्वहारा निरौला, सदस्य तारानाथ पोखरेल साथै सङ्खुवासभा साहित्यिक समाजका अध्यक्ष वीरेश राई लगायतले साल्पा र सिलिछोबारे सिर्जना गरिएका कविता वाचन गरेका थिए ।
साल्पा पोखरी र सिलिछो (सिलुछो) को विषयमा विगतका दिनहरूमा विभिन्न लेख-रचना तथा साहित्य सिर्जना गरी विविध गीत-सङ्गीत र साहित्यको माध्यमबाट साल्पा र सिलिछोलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने ४ जना सर्जकहरू: भरत कुलुङ, अजय अलङ्कार कुलुङ, हेमराज थुलुङ र युमन खालिङलाई महोत्सवको अवसरमा सम्मान गरिएको थियो । महोत्सवमा कुलुङ धामीझाँक्रीहरूद्वारा कुलु रीदुम अर्थात् मुन्दुम प्रदर्शन, विभिन्न जातजातिको झाँकी प्रदर्शन तथा किराँती पौराणिक/मौलिक गीत ‘सै राजा सैसै, सै रानी सैसै’ गाएर महोत्सवलाई थप रौनक तथा ऐतिहासिक बनाउन सफल भएको थियो ।