काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि ‘आशा जगाउने’ बजेट ल्याइने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै उनले आर्थिक वृद्धि, रोजगारी सिर्जना र लगानी विस्तारका लागि निजी क्षेत्रलाई विकासको प्रमुख सारथी बनाइने स्पष्ट पारे ।
उनले सरकारको स्रोत सीमित भएकाले अर्थतन्त्र विस्तारमा निजी लगानी निर्णायक हुने बताए । “सरकारको खर्च जीडीपीको करिब २५–३० प्रतिशत मात्र हुन्छ, बाँकी आर्थिक गतिविधि निजी क्षेत्रले नै चलाउँछ,” उनले भने ।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी रणनीतिक प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिएको जानकारी दिँदै कर प्रणालीलाई उद्यममैत्री बनाउने र करिब दुई दर्जन कानुन खारेज गर्ने प्रक्रिया अघि बढाइएको बताए ।
उनले एक रुपैयाँ सरकारी खर्चले सात रुपैयाँ निजी लगानी आकर्षित गर्नुपर्ने लक्ष्य राखिएको उल्लेख गर्दै पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको बताए । “सरकार एक्लैले पुँजीगत खर्च गरेर पुग्दैन, निजी लगानी भित्र्याउनैपर्छ,” उनले भने ।
उनका अनुसार सहुलियत ऋणका स्रोतहरू क्रमशः घट्दै गइरहेका कारण अब प्रतिस्पर्धी निजी क्षेत्रमार्फत अर्थतन्त्र विस्तार गर्नुको विकल्प छैन । उनले सूचना प्रविधि (आईटी) र खनिज क्षेत्रलाई नयाँ आर्थिक ‘ड्राइभर’ का रूपमा अघि बढाउनुपर्ने बताए ।
अर्थमन्त्रीले सामाजिक बजार अर्थतन्त्रको अवधारणा अनुसार नीतिहरू अघि बढाइने उल्लेख गर्दै निजी क्षेत्रको नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामार्फत आयको समतामूलक वितरण सुनिश्चित गरिने बताए ।
उनले पछिल्लो समय राजनीतिक नेतृत्वमा आएको पुस्तान्तरणले नयाँ युगको संकेत गरेको उल्लेख गर्दै निजी क्षेत्रलाई पनि सोच र कार्यशैली परिवर्तन गर्न आग्रह गरे ।
वाग्लेले प्रशासनिक संयन्त्रमा रहेको विचौलिया प्रवृत्ति र भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै इमानदार व्यवसायीका लागि अनुकूल वातावरण निर्माण गरिने बताए । “पहुँच र भनसुनका आधारमा काम हुने अवस्था अब अन्त्य हुन्छ,” उनले भने ।
उनले निजी क्षेत्रलाई पारदर्शी र जिम्मेवार बन्न आग्रह गर्दै महासंघको चुनावलगायत संस्थागत प्रक्रियामा दलीय गुटबन्दी नगर्न सुझाव दिए ।
अर्थमन्त्री वाग्लेले सरकार वाचापत्रअनुसार आर्थिक सुधार अघि बढाउने उल्लेख गर्दै निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।