काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन अहिले अभूतपूर्व अवसर आएको बताएका छन् । महासंघको ६० औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले राजनीतिक स्थायित्व र निजी क्षेत्रको सक्रियतालाई एकीकृत गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
मुलुकमा झण्डै दुई तिहाइको स्थिर सरकार रहेको वर्तमान अवस्थालाई नीतिगत स्थायित्वको अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष ढकालले सरकारले निजी क्षेत्रको आग्रह बमोजिम 'निजी क्षेत्र प्रवद्र्धन एवं संरक्षण रणनीति' (पिएसपीपी) पारित गरेकोमा खुसी व्यक्त गरे । 'यसले निजी उद्यम र व्यवसायीलाई भौतिक मात्र नभई नीतिगत सुरक्षाको समेत ग्यारेन्टी गर्नेछ,' उनले भने, '२०४६ पछिका आन्दोलनहरूमा निजी क्षेत्र सधैँ प्रभावित भयो, अब यो रणनीतिले व्यवसायीको मनोबल उच्च बनाउने विश्वास लिएका छौँ ।'
दोस्रो चरणको आर्थिक सुधारका लागि गठित उच्चस्तरीय आयोगका सुझावहरू कार्यान्वयन गर्न सरकारले केही पुराना कानुन खारेजीको प्रक्रिया अघि बढाएकोमा पनि उनले अर्थमन्त्रीको प्रशंसा गरे ।
मुलुकको ६० वर्षको आर्थिक इतिहास चर्चा गर्दै अध्यक्ष ढकालले दक्षिण कोरियासँग तुलनात्मक उदाहरण प्रस्तुत गरे । सन् १९६० को दशकमा नेपाल र दक्षिण कोरियाको प्रतिव्यक्ति आयमा ठूलो अन्तर नभए पनि अहिले कोरिया धेरै अघि बढेको उनले बताए ।
'हाम्रो ७ लाख युवा वार्षिक रूपमा कामको खोजीमा विदेशिन्छन्,' ढकालले भने, 'जबसम्म देशभित्रै उच्च ज्यालासहितको मर्यादित रोजगारी सिर्जना गर्न सकिँदैन, तबसम्म निराशालाई आशामा बदल्न सकिँदैन । ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको सन्दर्भमा सरकारको मुख्य उद्देश्य लगानीको वातावरण बनाउनु नै हुनुपर्छ ।'
महासंघले आफ्नै पहलमा १० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको 'नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड' कम्पनी स्थापना गरी काम सुरु गरिसकेको जानकारी उनले दिए । यस कम्पनीले स्वदेशी पुँजी परिचालन गरी ५० अर्ब रुपैयाँसम्मका ठूला आयोजना अघि बढाउन सक्ने उनले दाबी गरे ।
'नेपालमा केही हुँदैन भन्ने नकारात्मक भाष्य चिर्न र स्वदेशी पुँजीबाट पनि ठूला काम गर्न सकिन्छ भन्ने सन्देश दिन हामीले यो पहल गरेका हौँ,' उनले थपे ।
लगानीका लागि सुशासन अनिवार्य सर्त भएको उल्लेख गर्दै अध्यक्ष ढकालले आर्टिफिसियल इन्टेलिजेन्स (AI) र प्रविधिको उच्चतम प्रयोग गरी 'नागरिक एप' बाटै व्यवसाय दर्ता र नवीकरण हुने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे । उनले भूतप्रभावी कानुनहरूले लगानीकर्तामा अविश्वास बढाउने भन्दै त्यस्ता नीतिमा सुधार आवश्यक रहेको औँल्याए ।
अन्त्यमा, प्रतिकूलतामा पनि अनुकूलता खोज्ने आफ्नो स्वभाव रहेको उल्लेख गर्दै उनले भने, 'कोरोना र भूकम्पले थला पारेको अर्थतन्त्रलाई हामीले नै धुलो टक्टक्याउँदै उठाएका हौँ । अबको बिहानी थप सुनौलो हुनेछ, मात्र हामीमा सकारात्मक सोच र सिर्जनात्मक एकताको खाँचो छ ।'