काठमाडाैँ । मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट भइरहेको सेवा प्रवाहको अवस्थालाई आफ्नै कार्यकक्षबाट नियमित रूपमा डिजिटल माध्यममार्फत अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था मिलाएकी छन् । मालपोत कार्यालयहरूमा पछिल्लो समय सर्भर डाउन हुने र सेवाग्राहीले सास्ती भोग्नुपर्ने गुनासाहरू बढ्दै गएपछि मन्त्री रावलले यो कदम चालेकी हुन् ।
यस नयाँ प्रणालीमार्फत सेवा प्रवाहमा देखिएका समस्याहरूको तत्काल जानकारी लिने र ती समस्याहरूको समयमै समाधान सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । मन्त्रीज्यूको प्रत्यक्ष संलग्नता रहने यो निरीक्षण व्यवस्थाले मालपोतको सेवालाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने विश्वास गरिएको छ ।