भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिकाबाटै प्यान कार्ड लगायतका करसम्बन्धि काम हुने भएको छ । नगरवासीलाई सहज र छिटो छरितो सेवा प्रदान गर्ने उदेश्यले नगरपालिकाबाटै करसम्बन्धि सेवा प्रदान गर्न लागिएको हो ।
आन्तरिक राजस्व विभागको मिति गत पुस २० गतेको निर्णयअनुसार, आन्तरिक राजस्व कार्यालय, भक्तपुर र सूर्यविनायक नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएर काम शुरु गर्न लागिएको हो । नगर प्रमुख बाशुदेव थापाको रोहवरमा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत युवराज आचार्य र आन्तरिक राजश्व कार्यालय भक्तपुरकि प्रमुख कर अधिकृत उषा पोखरेलले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
अब पालिकाबाट व्यक्तिगत प्यान, व्यावसायिक प्यान लिन सक्ने छन्। त्यसैगरी मुल्य अभिबृदी कर भ्याट, अन्तशुल्क र कर चुक्ता सम्बन्धि प्रारम्भिक कागजात नगरपालिकामा पेशगरी नगरपालिकाले आन्तरिक राजश्व कार्यालयलाई सिफारिस गर्नेछ । सो कार्यालयले कागजात, अनलाइनबटै जाँचगरी पुनः नगरपालिकामा पठाएपछि नगरपालिकाबाट प्रमाणपत्र जारी गर्ने काम नगरपालिकाबाट हुने प्रमुख कार्यकारी अधिकृत युवराज आचार्यले जानकारी दिए ।
नगर प्रमुख बाशुदेव थापाका अनुसार, यो सहकार्यको उद्देश्य आन्तरिक राजस्व कार्यालयबाट प्रदान हुँदै आएका सेवाहरू सुर्यविनायक नगरपालिकाबाटै सहज रूपमा उपलब्ध हुने छन् । यस समझदारीपत्रमार्फत करदाता मैत्री सेवाहरूलाई अझ सरल, सहज र पहुँचयोग्य बनाउँदै नगरवासीले आवश्यक राजस्वसम्बन्धी सेवा अब आफ्नै नगरबाट प्राप्त गर्ने नगर प्रमुख थापाले जानकारी दिए ।
करको सोवा शुरु भएसंगै सेवाग्राहीको समय तथा लागत बचत हुनुका साथै सेवा प्रवाहमा थप प्रभावकारिता आउने अपेक्षा प्रमुख थापाको छ । यो सेवा शुरू भएपछि प्यान कार्ड लगायतका सामान्य कामका लागि आन्तरिक राजश्व कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताए ।