काठमाडौं । काठमाडौं महानगरपालिकाले आधारभूत स्तर पनि नभएका तथा ल्याउन नसकिने छात्रावास बन्द गर्ने भएको छ । छात्रावासको मापदण्ड, गुणस्तरीयता, सुरक्षा, स्वच्छता र सामाजिक पक्षमा सूचक बलियो बनाउनका लागि पाँच अनुगमन टोली बनाएर काम थालिसकेको कामपाले जानकारी दिएको छ ।
अनुगमनका क्रममा सञ्चालनका लागि आधारभूत स्तर पनि नभएका तथा ल्याउन नसकिने छात्रावासलाई बन्द गर्ने लक्ष्य रहेको कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए । हाल कामपामाका छात्रावासमा करिब ४० हजार व्यक्तिले सेवा लिइरहेको बताइएको छ ।
प्रमुख ढकालका अनुसार यति धेरै व्यक्तिहरूले सेवा लिइरहेको स्थानमा मापदण्डको पालना, गुणस्तरीयताको अवस्था, सेवा र सुरक्षासम्बन्धी व्यवस्था जाँच गरेर स्तरीयलाई दर्ता तथा सञ्चालन प्रक्रियामा ल्याउने, सुधार गर्न सकिनेलाई सुधारको मौका दिने अनुगमन थालिएको हो ।
कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भनिन्, ‘एक ठाउँमा पटक–पटक अनुगमनमा जानु नपरोस् । कुन कुन क्षेत्रका कुन कुन सूचक हेर्नु पर्ने हो । पूर्ण टोली बनाएर अनुगमन गर्नू । अवस्थाको निष्कर्ष निकालेर फर्किनू ।’
पाँच अनुगमन टोलीमध्ये शिक्षा अधिकृत नेत्रनारायण पौडेल संयोजक र शिक्षा अधिकृत रुक्मिला इटनी सदस्यसचिव रहेको टोलीले कामपाको वडा नं १, ३, ४, ६, १६, १८ र ३० गरी सात वटा वडामा रहेका छात्रावास अनुगमन गर्नेछ ।